कसैलाई बिझाउँदैनथे थम्मन

61

नेपालगन्ज, भदौ २६–
१५ वर्षअघि प्रहरीमा छिर्नु सजिलो थिएन थम्मनबहादुर विश्वकर्मालाई । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । विद्रोही पक्षबाट दिनहुँ परिवारलाई डरधम्की आउँथ्यो । विपन्न परिवारका थम्मन ज्यानकै बाजी थापेर सशस्त्र प्रहरी जवान पदमा भर्ना भएका थिए । बढुवासँगै सशस्त्र प्रहरी सहायक निरीक्षकसम्म पुगेका उनी केही वर्ष्भित्रै पेन्सन पकाएर जागिर छाड्ने अनि सामाजिक सेवामा लाग्ने सोचमा थिए । बाँकी जीवन परिवारसँग हाँसीखुसी बिताउने सपना थियो । तर, त्यो अब पूरा नहुने भो ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा निःशस्त्र अवस्थामा रहेका उनलाई शुक्रबार निशंस हत्या गरे । बाँके, कचनापुर–५ मदुईका स्थायी बासिन्दा थम्मनको परिवार हाल नेपालगन्ज–२५ कारकाँदो (कृष्णमन्दिर नजिक) बस्दै आएको छ । आन्दोलनकारीले उनलाई लखेटेर खुकुरी, भाला प्रहार गरी हत्या गरेको दुःखद खबरले परिवार, आफन्त र सिंगो टोल शोकमा छन् । पत्नी शोभा र वृद्ध आमा मैमीदेवी अर्धचेत अवस्थामा छन् । पाँचवर्षीय छोरा सुबोध मौन छन् । बिहीबार बेलुका मात्र थम्मनले पत्नीलाई फोन गरेका थिए । सन्चोबिसन्चो सोधे । कुरा टुंग्याउने बेला शुक्रबार बिहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी हुन जान लागेको खबर सुनाए । राजनीतिक परिस्थिति ठिक नभएको भन्दै शोभाले आफ्नो सुरक्षामा ख्याल गर्न सचेत गराएकी थिइन् । ‘देउरानीले हिजो साँझ मात्रै फोनमा अप्ठ्यारो परिस्थिति छ, हिँड्दा ख्याल गर्नु भन्दै अनुरोध गरेकी रहिछन, नभन्दै त्यस्तै भइदियो,’ थम्मनकी जेठी भाउजू कमलाले भनिन् ।

शुक्रबार हत्या गरिएका असई थमनको नेपालगञ्ज–२५, स्थित घरमा शोकाकुल पत्नी शोभा र पाँच वर्षीय छोरो सुबोध ।
शुक्रबार हत्या गरिएका असई थमनको नेपालगञ्ज–२५, स्थित घरमा शोकाकुल पत्नी शोभा र पाँच वर्षीय छोरो सुबोध ।

थम्मनले २०५७ सालतिर लक्ष्मी उच्च मावि, मदुईबाट एसएलसी उत्तीर्ण गरेका थिए । मदुईका स्थानीय तथा सहपाठी ऋषिराज देवकोटा थम्मनसँग बारम्बार टेलिफोनमा कुराकानी हँुदा पेन्सनपछि गाउँमै पुगेर समाजसेवा गर्ने इच्छा राखेको सम्झन्छन् । ’अस्ति मात्र फोनमा कुराकानी भएको हो,’ उनले भने, ‘पेन्सन अवधि पुगेपछि समाजसेवा गर्ने उनको धोको थियो ।’ थम्मनले नेपालगन्जनिवासी शोभासँग २०६३ सालमा वैवाहिक सम्बन्ध गाँसेका थिए । आफन्तका अनुसार उनी सबैसँग मिठो बोल्थे । परिवार, संगठन, गाउँ, समाज सबैसँग उत्तिकै सम्बन्ध राख्थे। परिवारमा कहिल्यै झै–झगडा भएन । चार दाजुभाइमध्ये थम्मन साहिँला हुन् । दाजुभाइ गाउँ र नेपालगन्ज बस्छन् । आमा मैमीदेवी थम्मनलाई बढी आडभरोसा गर्थिन, त्यसैले उनीसँग बस्दै आएकी थिइन् । दुःखद खबरपछि उनी अहिले घरी डाँको छाडेर रुन्छिन् त घरी बेहोस भएर भुइँमा लड्छिन् ।
थम्मनको निधनको खबरपछि आफन्त, इष्टमित्र शुक्रबार बेलुका नेपालगन्जस्थित घरमा भेला भएका थिए । ’उनको कमाइले नै परिवारको खर्च चलेको थियो, परिवारले सहारा गुमायो, समाजले पनि एउटा सच्चा व्यक्ति गुमायो,’ स्थानीय च्यवन पौडेलले भने । तत्कालीन सशस्त्र द्वन्द्व पार गरेका देवरको अहिले निर्मम हत्या भएको खबरले दुःख लागेको कमला बताउँछिन् । ’त्यत्रो माओवादीको युद्धमा पनि आफ्नो ज्यान जोगाउनु भएको थियो, अब त देशमा शान्ति आयो, केही हुँदैन भनिरहँदा यस्तो देख्नुपर्यो ,’ उनले भनिन् । घटनामा संलग्नलाई कारबाही गर्न उनले सरकारसँग माग गरेकी छन् । अन्तिम संस्कारका लागि थम्मनको शव नेपालगन्ज ल्याइदिन परिवारले आग्रह गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Womui
Womui