प्राविधिक ज्ञानले सुन्दर भविष्य निर्माण गर्छः अध्यक्ष थारु

189

शमशेरगन्ज–राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ भवानियापुरका युवाका लागि हाउस वायरिङ तालिम सुरु गरिएको छ । मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नम्बर ३ का २० युवालाई सहभागी गराइएको छ ।
दुई महिनासम्म सञ्चालन हुने तालिमले सहभागीको आर्थिक अवस्था एवम् बेरोजगारीपन हटाउने विश्वास लिएको कार्यक्रमका विशेष अतिथि रहेका गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । अध्यक्ष थारुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै तालिमलाई उपयोगी बनाउन सहभागीलाई आग्रह गरेका छन् । प्राविधिक ज्ञानले सुन्दर भविष्य निर्माण गर्ने बताउँदै अध्यक्ष थारुले भने,‘हातमा सीप भए काम घरसम्मै आउँछ, त्यसैले भविष्यमा आइपर्ने आर्थिक समस्या सिकेको सीपले टार्छ ।’
विपन्न वर्गलाई लक्षित गरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रम प्रशंसायोग्य भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश का सांसद कृष्णा केसी (नमुना) बताइन् । तालिममा सहभागी हुने सुनौलो अवसर पाएका सहभागीलाई बधाइ दिँदै सांसद केसीले अवसरलाई सुन्दर भविष्य निर्माण गर्ने आधारका रूपमा परिणत गर्न सुझाइन् ।
बढ्दो जनसङ्ख्या सँगै दिनप्रतिदिन घर निर्माणका काम धमाधम भइरहेको अवस्थामा हाउस वायरिङ तालिम प्रभावकारी हुने विश्वास लिइएको छ । रोजगारीका लागि भारतलगायत विदेश हानिने अवस्था नआओस् र प्राविधिक सीप सिकेर गाउँठाउँमै रोजगारीका प्रशस्त अवसर सिर्जना होस् भन्ने उद्देश्यले हाउस वायरिङको परिकल्ना ल्याइएको हो ।
लाखौं रुपैयाँ खर्चेर घर निर्माण गरे पनि गाउँठाउँमा हाउस वायरिङ गर्ने कुशल प्राविधिक नहुँदा बाहिरबाट प्राविधिक ल्याउनु परेको स्थानीय अरुण सुनाले बताए । उनकाअनुसार गाउँमा धमाधम घर निर्माण भइरहेकाले अहिले वायरिङ तालिमपश्चात् सीप सिकेका सहभागीले कामको खोजीमा भौँतारिनु नपर्ने बताए ।

Womui
Womui