चोरी निकासी रोक्न राप्तीसोनारीका नदीमा सुरक्षा पल्टन

163
फाइल तस्बिर ।

शमशेरगन्ज–बाँकेका नदी तथा खोलानालाबाट अवैध रूपमा हुने उत्खनन तथा चोरी निकासी रोक्न गृह प्रशासनले सुरक्षा फौज परिचालन गरेको छ । नदी तथा खोलाबाट दिनदहाडै तस्करहरुले नदीजन्य पदार्थ ओसारपसार गर्न थालेपछि खोलाको सुरक्षाको लागि सशस्त्र प्रहरीको मोबाइल पल्टन परिचालन गरिएको हो ।
राप्ती सोनारी गाउँपालिकाका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन एवम् ओसार पसारका लागि ठेक्का सम्झौता नभएको ठाउँमा मोबाइल पल्टन परिचालन गरिएको छ । मोबाइल पल्टनका लागि राप्तीसोनारी गाउँपालिकाले एउटा गाडी उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । अध्यक्ष थारुका अनुसार ठेक्का सम्झौता हुन नसकेका नदी तथा खोलाबाट हुन सक्ने चोरी निकासी रोक्नका लागि खटिएको पल्टनलाई सहजताका लागि गाडी उपलब्ध गराइएको हो ।
नदीजन्य पदार्थ चोरी निकासी हुँदा राज्यको राजस्व गुमाएकाले गृहको निर्देशनमा ठेक्का सम्झौता हुन नसकेका खोलानालामा २४ सैं घण्टा मोबाइल पल्टन खटाइएको सशस्त्र प्रहरी बल शमशेरगन्जका एसपी प्रकाशकुमार सुवेदीले जानकारी दिए । नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता हुन नसकेका ठाउँबाट दिनहुँ रूपमा भइरहेको चोरी निकासीले राज्यको धेरै राजस्व गुमेको बताउँदै एसपी सुवेदीले भने,‘राजस्व वृद्धिका लागि गृह प्रशासनले दिएको जिम्मेवारी निर्वाह गर्दै मोबाइल पल्टन त्यस क्षेत्रको सुरक्षामा दिन रातका लागि खटाइएको छ ।’
राप्तीसोनारीका नदी तथा खोलामा जताततै ढुंगा,गिट्टी र बालुवा थुपारी चोरी निकासी गर्ने क्रम बढेपछि गृह प्रशासनले सशस्त्र प्रहरी बल सम्शेरगन्जको सुरक्षा फौज खटाएको बाँकेको सिडिओ रामबहादुर कुरुम्वाँगले बताएका छन् ।
ठेक्का सम्झौता हुन नसकेका नदी तथा खोलानालामा करोडौं मूल्यको अवैध ढुंगा,गिट्टी र बालुवा थुपारिएको बताइन्छ ।
सशस्त्र प्रहरी बलले नदी खोलामा हातहतियारसहित स्थलगत निगरानी बढाइरहेको छ । विगत तीन वर्षदेखि हुँदै आएको अवैध तस्करमा सङ्गठिन समूहले गृह प्रशासनका अधिकारीलाई हटाउन संघीय र प्रदेशका मन्त्रीलाई दबाब दिइरहेको बुझिएको छ ।

Womui
Womui