डुडुवाका तीन स्थानमा निःशुल्क प्रयोगशाला

176

डुडुवा–बाँकेको डुडुवा गाउँपालिकाको तीन स्थानमा निःशुल्क प्रयोगशाला सञ्चालनमा आएका छन् । बिहीबार डुडुवा गाउँपालिकाले वडा नम्बर ६ हिरिमिनिया स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएसँगै गाउँपालिकामा सञ्चालित ल्याबको सङ्ख्या तीन पुगेको हो । गाउँपालिकाले अहिलेसम्म वार्ड नम्बर १ बेतहनी, वार्ड नम्बर ५ कम्दी र वडा नम्बर ६ हिरिमिनियामा निःशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ ।

गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परीक्षणका क्रममा गरिने प्रयोगशाला जाँचबाट वञ्चित हुन नदिनका लागि निःशुल्क ल्याब सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार पालिकाले हरेक वडामा निःशुल्क ल्याब सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भइसकेको छ भने अब बाँकी स्थानमा पनि सञ्चालन गरिने छ । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बताए । उनले सामान्य बिरामीदेखि मधुमेह, प्रेसर जस्ता कडा रोगका बिरामीलाई सम्पूर्ण औषधी उपचार निःशुल्क रूपमा गर्दै आएको बताउँदै आगामी दिनमा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पु¥याउने लक्ष्य रहेको बताए ।
बिहीबार एक कार्यक्रमका बीच अध्यक्ष चौधरीले हिरिमिनियास्थित प्रयोगशालाको उद्घाटन गरेका छन् । वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
ल्याबमा तीनजना प्राविधिकसहितको टोलीले वडा नम्बर ६ का करिब ६ हजार नागरिक प्रत्यक्ष सेवा लिने छन् । ल्याबमा दिसापिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जेन्डिस, लिभरलगायतको परीक्षण गरिनेछ । निःशुल्क ल्याब सञ्चालनमा आएपछि घरमै बिरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगन्ज आउनु पर्ने बाध्यता समेत हटेको छ । स्वास्थ्य समस्या देखिएपछि नेपालगन्जका चिकित्सकले परीक्षण गर्ने भनेपछि डुडुवामा पुगेर ल्याब जाँच गराएर रिपोर्ट देखाउने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए ।

Womui
Womui