पशुपतिनाथ पुस १ गतेदेखि खुला हुने

53


छिनछिन खबर
काठमाडौं–
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भक्तजनका लागि आगामी पुस १ गतेदेखि खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरेको जनाएको छ ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्ड तयार पारेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा आस्था राख्ने मन्दिर ९ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका छैनन् ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरेको थियो । इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डन बताउँछन् । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका छैनन् ।

Womui
Womui