मियापुर र कोहलामा सार्वजनिक शौचालय बन्दै

131

नरैनापुर– नरैनापुर गाउँपालिका वडा नम्बर २ मियापुर र कोहलामा सार्वजनिक शौचालय निर्माण हुन थालेको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शौचालयको जग खनेर निर्माणको शुभारम्भ गरेका छन् । पाँच लाख रुपैयाँको लागतमा बन्ने शौचालयका निर्माणका लागि कतार च्यारिटीले सहयोग गरेको हो । च्यारिटीले बाँके युनेस्को क्लबद्वारा उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
नरैनापुर गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसके पनि शौचालय अभावमा अझै पनि खुला दिसापिसाब हुने गरेको स्थानीय अरुण यादवले बताए । यादवका अनुसार सार्वजनिक शौचालय बनेपछि खुला दिसापिसाब गर्नु पर्ने हट्ने छ । प्रत्येक घरमा सार्वजनिक शौचालय बने पनि मियापुरवामा पुग्ने व्यक्तिका लागि सार्वजनिक शौचालय नभएकाले त्यहाँ सार्वजनिक शौचालय बनाउन थालिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । शाहले खुला दिसापिसाब गर्दा विभिन्न किसिमका रोग लाग्नुका साथै विशेष गरेर किशोरी र महिलालाई जोखिम हुने भन्दै खुला दिसा पिसाब नगर्न गाउँपालिकावासीमा आग्रह गरेका छन् ।
यस्तै युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले सार्वजनिक शौचालयको जगेर्ना तथा सरसफाइदेखि हेरचाह गर्ने जिम्मेवारी समुदायको भएको हुँदा सो कार्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर लगायत स्थानीय वासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो । काम विशेषले आवागमन गर्नेहरुको सुविधाका लागि निर्माण गरिने ती शौचालयमा धारा, पानी तान्ने मोटर र पानी ट्ंयाकीको पनि व्यवस्था गरिएको कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताए ।

Womui
Womui