कर्णाली स्वास्थ्य प्रतिष्ठानको विवाद साम्य, ४३ दिनपछि खुल्यो ताला

225

नेपालगन्ज– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा ४३ दिनदेखि लगाइएको ताला बधुबार खोलिएको छ । प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोध र अन्य विभिन्न माग राख्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो । प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकबिना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिनु पर्नेलगायत तीन बुँदे माग राख्दै तालाबन्दी गरेको हो ।

तालाबन्दी खोल्न उपकुलपति प्राडा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटक पटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन । अन्त्यमा प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले राखेको तीन बुँदे मागप्रति सहमति भएपछि ताला खुलेको छ । सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । 

त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य सङ्कायका डीन सहायकहरू डीन रहने सहमति भएको छ भने ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति हुनुका साथै प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्नेलगायतका सहमतिसमेत भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

Womui
Womui