राप्तीसोनारीका विद्यालय मंसिर १४ देखि सञ्चालन

150

शमशेरगन्ज– स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ मंसिर १४ गतेदेखि राप्तीसोनारीका विद्यालय सञ्चालनमा आउने भएका छन् । शिक्षा शाखा प्रमुख जीवन न्यौपानेका अनुसार विद्यालय सञ्चालन गर्न राप्तीसोनारीमा सञ्चालित विद्यालयका प्राधानाध्यापक तथा सरोकारवालाको भेलाको सुझाव र निर्णयका आधारमा कार्यविधि तयार गरी प्रक्रिया अनुसार गाउँपालिकाको अन्तिम निर्णयका आधारमा विद्यालय सञ्चालन गरिने छ ।
‘विद्यालयमा प्रत्यक्ष सिकाइ सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरेका छौं, गाउँपालिका अध्यक्ष थारुले भने,‘लामो समय विद्यालय बन्द हुँदा सिकाइ कार्य पूर्णरुपमा प्रभावित भएकाले अबदेखि विद्यालय चलाउने निर्णय गरेका हौं ।’

गाउँपालिका अध्यक्ष लाहुराम थारुको संयोजकत्वमा गाउँपालिका भित्र रहेका विद्यालय बाहिर रहने बालबालिकालाई विद्यालयमा भित्र्याउने शैक्षिक कार्यक्रममा समानता कायम गर्न प्रयोजनार्थ समस्त रणनीतिक कार्ययोजना बनाउन मार्ग निर्देश तथा रणनीति तर्जुमा समिति गठन गरिएको छ । त्यस्तै गाउँपालिकाभित्र सञ्चालति विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक सरुवा तथा नयाँ नियुक्तका लागि दरबन्दी मिलान नहुँदासम्म सिफारिस बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले बताए ।

Womui
Womui