कुड्वामा स्वास्थ्य इकाई

183

बाँके (डुडुवा)– स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित रहेको बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर १ कुड्वामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्थानीय रामनरेश मौर्यले निशुल्क रूपमा उपलब्ध गराएको दुई कोठे घरमा स्थापना गरिएको इकाई शुक्रबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरेका छन् ।उदघाटन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाले सञ्चालन गरेको घर घरमा स्वास्थ्य अभियानलाई सफल पार्न र सेवाबाट वञ्चित तथा पछाडि परेको समुदायलाई समेट्ने उद्देश्यले इकाई सञ्चालनमा ल्याएको बताए । उनले गाउँपालिका अन्तर्गत कुनै पनि समुदाय तथा बस्ती, टोलका पछाडि पारिएका नागरिकलाई सेवाबाट वञ्चित नगराई प्रभावकारी सेवा प्रदान गर्ने योजना अनुरूप अघि बढेको बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको वार्ड नम्बर ५ मा पनि केही बस्तीमा स्वास्थ्य इकाई स्थापना गर्ने बताए ।

कुडवाका नागरिकहरु राप्ती नदी वारपार गरेर हालिया र नरैनापुर गाउँपालिकाको गंगापुर स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका थिए । स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएपछि उक्त समस्याको अन्त्य हुने स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार सोही स्थानमा बालबालिकाहरुका लागि खोप केन्द्र सञ्चालन गर्न भवन समेत निर्माण भइरहेको छ । इकाईबाट सो बस्तीका करिब ९० घरपरिवार प्रत्यक्ष लाम्भावित हुने गाउँपालिकाले जनाएको छ ।
इकाईमा औषधीसहित दुईजना स्वास्थ्यकर्मी परिचालन गरी शुक्रबारबाट सेवा सुरु गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावती यादवलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui