टिकापुर घटनामा माओवादी लडाकुको संलग्नता खुल्यो

52

काठमाडौं, भदौ २४–
कैलालीको टीकापुर भएको हिंसात्मक घटनामा माओवादी लडाकूको संलग्नता रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । थरुहट स्वयत्त प्रदेश माग्दै आन्दोलनरत थारु समुदायले यही भदौ ७ गते टीकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा बरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । प्रहरीले गोली र अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित आन्दोलनकारीले प्रहरीको हत्या गरेको आयोगले ठहर समेत गरेको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रहरी तर्फबाट प्रदर्शनकारी माथि अश्रुग्याँस र गोली प्रहार हुन थालेपछि आक्रोशित प्रदर्शनकारीले प्रहरीको हत्या गरेको बुझिएको बताएकी छन् । जोशीपुर गाविसबाट आएका आन्दोलनकारीमा तत्कालीन नेकपा माओवादीका पूर्वलडाकूहरु पनि समावेश भएको विज्ञप्तीमा जनाइएको छ ।

घरेलु हतियार प्रहार गरी न्यौपाने लगायतका सुरक्षाकर्मीको हत्या गरिएको आयोगले विज्ञप्तिमा जनाएको छ । आफ्नै घरमा बसिरहेको समयमा खेतबारीबाट गोली प्रहार भई डेढ वर्षीय बालकको समेत हत्या भएको आयोगले उल्लेख गरेको छ । घटनाको भोलिपल्ट सभासद एवम् सर्वसाधारणका घर सम्पत्तिमा आगजनी भएमा उक्त घटना सुरक्षा संवेदनशीलता विपरित भएको आयोगले ठहर गरेको छ । साथै आयोगले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, सर्वसाधारण नेपाली जनताको सुरक्षा गर्न, मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन, यस प्रकारका घटना दोहोरिन नदिन सरकार तथा आन्दोलनरत पक्षको ध्यानाकर्षण गराएको छ ।

Womui
Womui