पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न

267

बाँके(डुडुवा)–डुडुवा गाउँपालिकास्तरीय पोषण कार्यक्रमको दुई दिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ । गोष्ठीमा गाउँपालिका अन्तर्गत वडास्तरमा रहेका स्वास्थ्य चौकीले पोषण कार्यक्रम तथा अवस्था, समस्या र सुधारको पहलबारे प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा गाउँपालिकामा अझै पनि १४ प्रतिशत पोषणको स्तरमा सुधार गर्नु पर्ने देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार बालबालिकाको पोषण अवस्था सुधारका लागि खोप, पौष्टिक खाना, तौल र उचाइलाई विशेष ध्यान दिनु पर्दछ । जन्मेदेखि दुई वर्षको बालबालिकालाई आमाको दूध र थप पौष्टिक खाना खुवाउनले कुपोषण रोगबाट बचाउँछ ।
गोष्ठीको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले समुदायमा अझै पनि स्वास्थ्य सचेतनाको अभावमा बालबालिकालाई कुपोषण हुने गरेकाले गाउँपालिकाले चेतनामूलक सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयम् सेविकालाई परिचालन गर्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य आमोद तिवारी, गाउँपालिकाका अधिकृत ओमबहादुर रानालगायतले आआफ्नो धारणा राखेका थिए । गोष्ठीमा गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, फोकल पर्सनलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui