‘मोहम्मद डे’ को अवसरमा नरैनापुरमा सार्वजनिक बिदा

236

बाँके (नरैनापुर)— बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक बिदा दिएको छ । भोलि (शुक्रबार) कात्तिक १४ गते परेको इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीलाई इस्लाम धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् । गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भनेका छन्,‘विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछौं ।’

स्थानीय तहले आवश्यकता अनुसार स्थानीय बिदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा शुक्रबार नरैनापुर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । गाउँपालिकाले गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।

Womui
Womui