डुडुवा कार्यालय भवनको निर्माण कार्य तीव्र

48

बाँके (डुडुवा)– बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । भवन निर्माणको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । भवन निमार्णको कार्यप्रगतिका बारेमा मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवन निर्माणको गुणस्तरीयता, बाउण्ड्री, शौचालय, बहुउद्देस्सीय सभा हलको डिजाइन, भवनको कोठालगायतका बारेमा प्राविधिक टोलीसँग जानकारी लिई थप सरसल्लाह दिएका थिए । उनले बाँके जिल्लामै पहिलोपटक डुडुवाले भवन निर्माण गर्न लागेकाले समयमा निर्माण कार्य सम्पन्न पूरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । अध्यक्ष चौधरीले छिट्टै भवन निमार्णको कार्य सम्पन्न भए कार्यालयको कामकाज तथा सेवाप्रवाहमा सहयोग तथा गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरे ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादवलगायत कर्मचारी र प्राविधिकहरुको सहभागिता रहेको थियो । भवन निर्माणको यसरी नै बेला बेलामा अनुगमन भएमा हामीलाई पनि कार्य गर्नमा सहजता तथा उत्साह थप्ने बताउँदै निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले भने–‘अहिलेको प्रगति अनुसार अघि बढे ६ महिना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिन्छ, त्यसै अनुरुप अहिलेलाई तीव्र गतिमा काम गरिरहेका छौ ।’ उनले अहिले जटिल परिस्थितिमा पनि निर्माण कार्य नरोकी निरन्तर अघि बढाइरहेको भन्दै निर्माण सामाग्रीका लागि खोला खुलेपछि अझ सहज हुने बताए ।

अत्याधुनिक प्रविधिबाट निर्माण हुने सुविधा सम्पन्न भवनको तीन महिना अघि मात्र गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गरेका थिए । गाउँपालिका केन्द्र रहेको वडा नम्बर ३ वनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १० करोड २२ लाख १६ हजार ६१२ रुपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भइरहेको छ । चार तल्ले भवनमा चार सय जना अटाउने क्षमता भएको बहुउद्देस्सीय सभा हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारीका लागि पार्किङ, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतीक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनका अनुसार रोयल कन्सट्रक्सन कैलालीले भवन निर्माणको ठेक्का सम्झौता गरेको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निर्माणका लागि संघीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नम्बर ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

Womui
Womui