मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक (सूचिसहित)

105


छिनछिन खबर
काठमाडौं–
राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षको अवधिमा मानव अधिकार हननका गम्भीर घटनामा संलग्नको नामावली सार्वजनिक गरेको छ । आयोगले २०५७ देखि २०७७ असार सम्मको सिफारिस र कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा नेपालका उच्च राजनीतिक व्यक्ति, कर्मचारी, सेना र प्रहरीका अधिकारी पनि मानव अधिकार हननकर्तामा सूचीकृत छन् ।

मानवअधिकारको गम्भीर उल्लंघनमा संलग्न हुने र राज्यको सेवासुविधा भोग गरिरहने परिपाटी रोक्नका साथै दण्डहीनता अन्त्य गर्न आयोगले ‘कालोसूची’ सार्वजनिक गरेको जनाएको छ । आयोगको कालोसूचिमा नेपाल प्रहरीका ९८ जना, नेपाली सेनाका ८५ जना, तत्कालीन नेकपा माओवादीका ६५ जना, निजामती कर्मचारी १६ जना, सशस्त्र प्रहरी बलका ८ जना छन् । त्यस्तै, शिक्षक चार जना, चिकित्सक दुई जना, मानवअधिकारकर्मी १ जनासमेत सो सूचीमा छन् । मानवअधिकार आयोगले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति प्यारजंग थापालाई भैरवनाथ गणमा भएको यातनालाई लिएर मानव अधिकार उल्लंघनकर्ताको सुचीमा राखेको छ ।


यस्तै पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई पनि मानवअधिकार उल्लंघनकर्ताको सूचीमा राखिएको छ । राना धनुषाको प्रहरी प्रमुख (एसपी) रहँदा बलपूर्वक बेपत्ता पार्ने कार्यमा संलग्न रहेको जनाएको छ । त्यस्तै बाँकेको चीसापानी ब्यारेकमा रहँदा थुपै्रलाई बेपत्ता पारेको आरोप लागेको तत्कालीन सेनाका मेजर अजित थापा, रमेश स्वाँर पनि मानव अधिकार हननकर्तामा दर्ज भएका छन् । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (ओएचसिएचआर)ले दिएको प्रतिवेदनलाई पनि आयोगले आधार बनाएको छ ।

आयोगले कालोसूचीमा पारेका व्यक्तिलाई वैदेशिक भ्रमणमा प्रतिबन्ध लगाउने, तीन वर्षसम्म नियुक्ति, बढुवा वा वैदेशिक तालिममा सहभागी हुनबाट रोक्ने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतका सुरक्षा निकायमा ३ वर्षसम्म संयुक्त राष्ट्रसंघीय मिसनमा पठाउन रोक्ने र ३ वर्षसम्म राहादानी लगायतका सरकारी सेवा–सुविधाबाट वञ्चित गराउने सक्ने गरी निर्देशिका यसअघि बनाएको थियो ।

https://drive.google.com/file/d/1sG4SVhpeJt-O2bYW9ztrTRiTGSb_1rFg/view

Womui
Womui