भेरीगंगा नगरपालिका स्मार्ट सिटी बन्दै

155

सुर्खेतको दोस्रो ठूलो नगरपालिका भेरीगंगालाई ‘स्मार्ट सिटी’ बनाउनका लागि दीर्घकालीन योजनाहरू अघि सारिएको छ । अधिकांश शहरहरूमा दीर्घकालीन योजना नबन्दा अस्तव्यस्त भइरहेको बेला यो नगरपालिकाले पछि हुन सक्ने जोखिमलाई सुरुदेखि नै सम्बोधन गर्ने उद्देश्यले योजनाहरू निर्माण गरिरहेको छ । भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका सडक, पुल, खानेपानी आयोजना, शहर व्यवस्थापन लगायतका योजनाहरू निर्माण गरेर दीर्घकालीन रूपमा अघि बढाउन थालेको हो ।

भेरी किनारामा रहेको यो नगरपालिकालाई हरित आधुनिकर शहर (स्मार्ट सिटी) को रूपमा स्थापित गर्ने योजनाहरू सुरु देखि नै कडाइका साथ लागु गर्ने थालेको छ । भेरी आधुनिक शहर निर्माण गर्ने उदेश्य रामघाट, छिन्चु, मैनतडा, मेहलकुनालगायतका गाविसलाई समेटेर यस अघि स्मार्ट सिटीको अध्ययन गरिएको थियो । तर भेरीगंगा नगरपालिकाले पनि समग्र नगर क्षेत्रको सर्वाङ्गिन विकास, आवश्यक सेवा सुविधाहरूलाई फराकिलो पार्दै स्मार्ट सिटीको अवधारणामा रहेर योजना निर्माण गरिरहेको छ । समृद्ध र वातावरणमैत्री आधुनिक नगरपालिका बनाउन गुरु योजनाहरू निर्माण कार्यलाई निरन्तरता दिएको भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले बताउनुभयो । व्यवस्थित शहरीकरण सहरी सेवा व्यवस्थापन र कृषि संरक्षणको लागि भू–उपयोग नितिमा आधारित ल्याण्ड पुलिङ्गको अवधारणा अघि बढाएको उहाँले बताउनुभयो । जिल्लाका सरोकारवाला निकायसंगको समन्वयमा नगरपालिकाको स्वीकृत गुरुयोजनालाई कार्यान्वयमा जोड दिएको छ । नगरपालिकामा भूकम्परहित भवन निर्माण, फोहोर व्यवस्थापन, सीटी सिभिल कोड लगायतका योजनाहरू सञ्चालनमा ल्याएको मेयर चन्दले भन्नुभयो । आधुनिक शहरसँगै नगरपालिकाको सामाजिक विकास, सुशासन तथा संगठन, कृषि, वातावरण, स्वास्थ्य एवम् सरसफाई सम्बन्धी नीति निर्माण गरेर योजनाहरू तयार गरिएको छ । नगर भित्रका बाँझे जमिनलाई सम्बन्धित पालिकाले प्रयोग नगरे भाडामा अरूलाई दिएर कृषि व्यवसायिक खेती गर्नमा प्रेरित गराउने नगरको योजना रहेको छ ।

स्मार्ट सिटीलाई टेवा पुग्ने योजनालाई कार्यान्वयनमुखी बनाउन सबैको साथ, सहयोग र सुझाव जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत लोखिराम ओली बताउनुहुन्छ । साँघुरो सोचाइले अधिकांश शहरहरू अहिले अस्तव्यस्त बनेको उदाहरण दिँदै ओलीले भोलीको पुस्तालाई फाइदा पुग्नेखालका दीर्घकालीन योजना निर्माण गर्न लाग्नुपर्ने भन्नुभयो । –समृद्ध भेरीगंगा

Womui
Womui