कनेक्टिकट चौतारीको सातौं संस्करण विमोचन

271

नेपालगन्ज– कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) को वार्षिक मुखपत्र विमोचन भएको छ । कोरोना भाइरसलाई मध्यनजर गरी सामाजिक दूरी कायम गर्दै अमेरिकाको वेस्ट हार्टफोर्डको वालकट पार्कमा एक कार्यक्रमबीच वार्षिक मुखपत्र कनेक्टिकट चौतारी विमोचन भएको हो ।

मुखपत्र विगतका केही वर्षदेखि नेपालमै डिजाइन र प्रिन्टिङ हुँदै आएको छ । कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकामा बस्दै आएका नेपालीहरुको साझा संस्था हो । संस्थाले नेपाली नागरिकलाई केही हदसम्म भए पनि काम दिन सकियोस् भन्ने हेतुले मुखपत्रको डिजाइनिङ र प्रिन्टिङ नेपालमा गर्दै आएको संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले बताए । कोरोना महामारीका कारण यसपटक मुखपत्र प्रिन्टिङ कार्य नेपालमा हुन नसके पनि डिजाइनिङ भने नेपालमै भएको हो । मुखपत्रको लेआउट डिजाइन पत्रकार एवम् डिजाइनर रमण ‌ओलीले गरेका हुन् ।

कवि तथा गीतकार धन लामा प्रमुख सम्पादक रहेको नेकोनको सातौं मुखपत्रलाई वेस्ट हार्टफोर्ड टाउनकी मेयर सेरी केन्टरले विमोचन गरेकी छन् । मुखपत्र विमोचनमा डेमोक्राटिक पार्टीको तर्फबाट राज्य प्रतिनिधिकी उम्मेदवार केट फर्रर, नेपालीहरुका लागि अंग्रेजी भाषामा विशेष योगदान पुर्‍याउँदै आएकी नेपाल र नेपालीलाई माया गर्ने शिक्षा स्वयम् सेविका डा. मेरी मेक्कीनाले आआफ्ना अनुभवहरु बाँडेका थिए ।

मुखपत्रका प्रधान सम्पादक धन लामा (दायाँ/बायाँबाट बीचमा) लगायत सहभागी ।

संस्थाका वर्तमान अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सचिव भद्र राईले उद्घोषण गरेका थिए भने जय राईले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै मुखपत्र प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई प्रधान सम्पादक धन लामाले धन्यवाद दिनुका साथै मुखपत्रलाई पहिलोपटक संस्थाको वेभसाइट (connecticutchautari.com) मा दस्तावेज गरेको जानकारी दिए । उनका अनुसार कोरोना कहर र अत्यावश्यक कामका कारण कार्यक्रममा सहभागी हुन नसक्नु भएकाले वेभसाइटका माध्यमद्वार पढेर सल्लाह सुझाव दिन आग्रह गरेका छन् ।

यसैबीच नयाँ थपिएका आजीवन सदस्यलाई संस्थाका प्रमुख सल्लाहकार अशोक श्रीवास्तवले सदस्यता प्रमाणपत्र वितरण गरेका थिए भने वेस्ट हार्टफोड टाउनकी मेयर सेरी केन्टरले मुखपत्र सम्पादन समितिका सल्लाहकार, प्रधान सम्पादक र सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरेकी थिइन् ।

मन्तव्य प्रस्तुत गरिँदै ।
Womui
Womui