गुर्जोः किन खाने, कति खाने र कसरी खाने ?

148


काठमाडौँ– ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन् । धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन् । अहिले कोरोना भाइरसको कहरमाझ एकाएक चर्चा हुन थालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन् । “यसको फाइदाको कुरा थाहा पाएँ । अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन् । पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ ।

गुर्जोको बढ्दो प्रयोग
सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन् ।
कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोना भाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् । “हामी सानो छँदा गाउँघरतिर दूध धेरै दिन्छ भनेर गाईबस्तुलाई खुवाउने गर्थ्यौँ ।

पछि अध्ययनका क्रममा मैले यसमा भएको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने फाइदाबारे थाहा पाएँ,” डाक्टर कोइरालाले भने । कोरोना भाइरसको महामारीका कारण यसको फाइदाबारे मानिसहरूले धेरै थाहा पाउन पाएको र महत्व बुझेको उनले बताए ।
कतिपय प्रयोगकर्ताहरू भारतीय योगगुरु रामदेवले यसको फाइदाबारे बताएपछि खोजेर खान थालेको बताउँछन् ।


किन खाने गुर्जो ?
कोइरालाका अनुसार कोरोना भाइरस अगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो । दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्म पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् । रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन् ।


“गुर्जो बहुउपयोगी जडिबुटी हो । यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने । “यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन् । त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ ।” उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ । तर त्यो असर लामो समय रहँदैन।


गुर्जो कति र कसरी खाने ?
चिकित्सक कोइरालाको सुझाव यस्तो छः

गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ । धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ । डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ । गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ । बीबीसी

Womui
Womui