संकटमा सहारा बन्दै बी–ग्रुप

52

खजुरा–कोभिड–१९ कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)ले राहत वितरणलाई तीव्रता दिएको छ । सोमबार बी–ग्रुपले खजुरा गाउँपालिका वडा–१ मा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत सामग्री हस्तान्तरण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको बी–ग्रुपले कोरोनाले निम्त्याएको संकटको बेला समस्यामा परेको जनताको सहयोगीका रूपमा काम गरिरहेको छ ।

विश्वभर महामारीका रूपमा देखा परेको कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्नको लागि बी–ग्रुपले सहयोग गरेको हो । अक्सफाम नेपालको साझेदारीमा संचालित कार्यक्रममा अन्तर्गत खजुरा गाउँपालिकाको सैनिक,बिरपुरका जनतालाई हात धुनका लागि बाल्टिन, वडा–१ कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
बी–ग्रुपको तर्फबाट कार्यसमिति सचिव टेक बहादुर पुनले सोमबार खजुरा गाउँपालिका वडा–१ कार्यवहाक अध्यक्ष फत्ते कुमारी जैसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

बी–ग्रुपले वडा कार्यालयलाई ‘अटोमेटिक ह्यान्डवासिङ सेन्टर’का लागि एक हजार लिटर क्षमताको स्टीलको ट्याकी सहित दुइ सेट, ह्यान्डवास लिक्वीड, ३२ इन्चको एक थान टेलिभिजन, एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटर स्यानिटाइजर, एक सय लिटर हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड ट्यांकी प्रदान गरेको छ ।

बी–ग्रुप कार्यसमिति सचिव पुनले कोरोनाले पारेको प्रभावलाई थोरै भएपनि कम गर्न सकिन्छ भनेर परियोजना सञ्चालन गरिएको बताए । उनले भने, ‘कोरोनाले अहिले संसारभर आतंक मच्चाइरहेको छ । यसले धेरै जनतालाई समस्या पारेको छ । विपन्न वर्ग झन समस्यामा छन । उनीहरुलागि थोरै भएपनि सहयोग होस भनेर हामीले स्वास्थ्य सामाग्री प्रदान गरेका हौं ।’

संस्थाले गरेको सहयोग पर्याप्त नभए पनि वडा कार्यालयले आगामी दिनमा कोरोनाबाट उत्पन्न भएका समस्या कम गर्न सक्रिय भएर लाग्ने पुनले विश्वास व्यक्त गरे ।
समाजमा रहेको मानिसको व्यवहार परिवर्तन गरेर स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्य राखिएको स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना खजुरा गाउँपालिकाको वडा–१,२, ३, ४ र ८ नम्बर वडामा सञ्चालन भइरहेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए । उनले भने, ‘कोरोनाले गर्दा उत्पन्न भएको अप्ठयारो अवस्थामा जनतालाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको हो । कार्यक्रम बाँके जिल्लाको विभिन्न स्थानीयतहमा संचालन भैरहेको छ । यसले व्यवहार परिवर्तन गर्दै स्वस्थ जीवन जिउन मानिसलाई प्रेरित गर्छ ।’

यसैगरी बी–ग्रुपले नेपालगन्ज उप–महानगरपालिकामा कोरोना कारण समस्यामा परेको विपन्न र अपांङ भएका व्यक्तिलाई राहत वितरण गर्ने कार्य पनि जारी राखेको छ । बी–ग्रुपले कोरोनाको असर कम गर्नको लागि जनतालाई राहत वितरण गर्ने देखि लिएर स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताउँछन कार्यक्रम संयोजक शर्मा ।

कार्यबहाक अध्यक्ष जैसीले अप्ठयारो अवस्थामा सहयोग गर्ने संस्था बी–ग्रुपलाई धन्यवाद दिएकी थिइन । उनले भनिन, ‘ बी–ग्रुपले सहयोग गरेका सामान अहिले अति नै उपयोगी छन । वास्तवमा हामीले गर्नु पर्ने कार्यक्रम बी–ग्रुपले संचालन गरेको छ । आगामी दिनमा यस्ता कार्यलाई वडाले निरन्तरता दिने प्रयास गर्नेछ ।’
१० महिने परियोजनाले समाजमा पहुच नभएका मानिस, विपन्न र गरिब परिवारलाई सहयोग गर्ने गरेको बी–ग्रुपकी प्रतिनिधि दुर्गा पन्थीले बताइन । सामाग्री हस्तान्त्रण कार्यक्रममा १ नम्बर वडाका सचिव चिरञ्जीवि पाण्डे, बी–ग्रुप प्रतिनिधि ऋषि पोखरेल, सृष्टि शाही, वडा कार्यालयका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

Womui
Womui