नेपाल एयरलाइन्समा विदेशी पाइलटको खर्च व्यापक रूपमा कटौती

127


मालती खड्का
काठमाडौं
– सरकारी स्वामित्वको नेपाल एअरलाइन्समा विदेशी पाइलटको खर्च व्यापक रूपले कटौती भएको छ ।
एअरलाइन्सका अनुसार कोरोना भाइरसको महामारीपछि विदेशी पाइलटको खर्च उल्लेख्य रूपले घटेको हो । कोरोना महामारी अघि वाइडबडी जहाज ए ३३० विमानका लागि १४ विदेशी पाइलट र लाइन पाइलट राखिएको थियो ।

त्यतिखेर उनीहरुको मासिक पारिश्रमिक ३ करोड २३ लाख रुपैयाँ थियो । लकडाउन यता विदेशी पाइलटको खर्च मासिक ७३ लाख ७१ हजार रूपैयाँ सीमित भएको एयरलाइन्सले जनाएको छ । चैतदेखि विदेशी विमान चालकको सेवा, सुविधा र पारिश्रमिक कटौती गरिएको हो । अहिले एयरलाइन्सले करारमा रहेका ७ विदेशी पाइलटको करार सेवा नवीकरण गरेको छैन । भइरहेका उडान व्यवस्थापनका लागि ६ विदेशी पाइलटको मात्र करार नवीकरण गरेको एयरलाइन्सले विज्ञप्ति जारी गरी जनाएको छ ।

एअरलाइन्सले विगतमा विमान चालकलाई मासिक १२ हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने गथ्र्यो । त्यो पारिश्रमिक पनि कटौती गरेर मासिक ४ हजार अमेरिकी डलर कायम गरिएको एअरलाइन्सले जनाएको छ ।
एअरलाइन्सका अनुसार लकडाउनयता विदेशी भन्दा नेपाली पाइलटको प्रयोग भएको छ । जसले गर्दा नेपाली पाइलटको मासिक आम्दानी पनि बढेर औसत मासिक ५ लाख २९ हजार रूपैयाँ पुगेको एअरलाइन्सले जनाएको छ ।

Womui
Womui