नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीव्र गतिमा

107

बाँके(नरैनापुर)– नरैनापुर गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ । यथाशक्य भवन निर्माणको काम सक्ने उद्देश्यले डिपिआरको काम सुरु भएको छ । डिपिआर सकिएँगै तत्काल ठेक्का आह्वान गरी भवन निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

गाउँपालिका कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ । सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको हो । निर्माण हुँदै गरेको भवनका लागि स्थानीयवासीले एक बिघा १८ कठ्ठा जग्गामा दान गरेका छन् । उक्त भवन चार तलाको हुनेछ भने सभाहल, कर्मचारी आवास गृह, पाहुना घर र खाजाघरसमेत रहने गरी अन्य भवनहरु निर्माण हुनेछन् । भवनको मुख्य प्रवेशद्वारसँगै एउटै प्राङ्गणभित्र, प्रतीक्षालय, बगैंचा, सुरक्षा गार्ड भवन, पार्किङ क्षेत्रलगायतका संरचनाहरु पनि निर्माण हुने प्रमुख शाहीले बताए । भवन निर्माणका लागि गाउँपालिकाले जिल्ला समन्वय समिति बाँकेमार्फत चार करोड रकम पाउने भएको छ भने जसमध्ये पहिलो चरणमा दुई करोड ७० लाख निकासा भइसकेको छ । त्यसबाहेक भवन निर्माणका लागि प्रदेश तथा संघमा पनि रकम माग गरिएको अध्यक्ष शाहले जानकारी दिए । अध्यक्ष शाहका अनुसार डिपिआर सकिएलगत्तै टेण्डर आह्वान गरेर भवन निर्माणको कामलाई तीव्रता दिइने छ । अहिले गाउँपालिकाले सेवाग्राहीलाई साविकका गाविस भवन, वडाका पुराना कार्यालय र भाडाका घरबाट सेवा दिन बाध्य छ । पुराना र भाडाका घर साघुँरो हुनुका साथै त्यहाँ प्रयाप्त मात्रामा कार्यालय संचालन गर्ने पूर्वाधार नभएकाले चुस्तदुरुस्त सेवा प्रवाह हुन कठिनाइ सिर्जना भइरहेको प्रमुख प्रशासकीय अधिकृत शाही बताउँछन् ।

Womui
Womui