होम आइसोलेसनमा बस्दा हेलचक्य्राइँ नगरौः स्वास्थ्यकर्मी शाही

245

नेपालगन्ज–होम आइसोलेसनमा बस्दा हेलचक्य्राइँ नगर्न नेपालगन्ज उप-नगरपालिकाका हेल्थ असिस्टेन्ट राजन शाहीले सुझाएका छन् । सरकारको मापदण्ड अनुरुप नेपालगन्ज उपमहानगरपालिकाले पनि अवलम्बन गरेर होम आइसोलेसनको अवधारणा ल्याएकाले कोरोना संक्रमित व्यक्तिले होम आइसोलेसनमा बस्दा झनै सावधानी अपनाउनु पर्ने अवस्था सिर्जना भएको शाहीले बताए । शाहीका अनुसार होम क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितको सानो लापरबाहीले एक घरदेखि संक्रमण सुरु भई सामाजिक स्तरमै यसको जोखिम बढ्ने सम्भावना बढेको छिनछिन खबरको कुराकानीमा बताए ।

नेपालमा संक्रमण दर दिनानुदिन बढ्दै जाँदा तोकिएका आइसोलेसन सेन्टर तथा कोभिड–१९ अस्पतालले संक्रमितको संख्या थेग्न नसकेपछि संक्रमण देखिएका व्यक्तिलाई अस्पताल भर्ना गर्ने र सामान्य लक्षण भएका वा लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सक्ने मापदण्ड लागू भएको छ । कोरोना महामारीका बेला फ्रन्ट लाइनमा रहेर कोरोना रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शाही स्वयम् होम क्वारेन्टाइनमा छन् । होम क्वारेन्टाइनमा रहेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका शाहीले कोरोना भाइरसको औषधि अझै बनिनसकेकाले क्वारेन्टाइन तथा आइसोलेसनलाई जनस्वास्थ्यका दृष्टिकोणले महामारी रोकथाम तथा नियन्त्रणको भरपर्दो उपायको रुपमा लिएको बताए । शाहीका अनुसार नेपालमा अहिले कोभिड–१९ संक्रमणको अवस्था हेर्दा लक्षण चिन्ह भएकाहरूको संख्या भन्दा लक्षण चिन्ह नभएका संक्रमितहरूको संख्या धेरै रहेको छ । त्यसैले यो महामारी रोक्न क्वारेन्टाइन वा आइसोलेसनमा संक्रमण फैलन नदिन तोकिएको समयसम्म छुट्टै बस्नु वा सामाजिक रुपमा अलगिनु नै उत्तम विकल्प हो ।

कस्तो अवस्थामा होम आइसोलसन बस्न सकिन्छ र पालना गर्नु पर्ने मापदण्ड के हुन् ?

हालसम्मका कोभिड–१९ को माहामारी भोगीरहेका अन्य देशहरुको अनुभवबाट पाठ सिक्दै उपलब्ध अस्पतालहरूको सीमित क्षमतालाई समेत मध्यनजर गरी लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्हहरू भएका केशहरूलाई देहायको मापदण्डहरूको पूर्ण पालना हुने अवस्थाको सुनिश्चितता भएमा सम्बन्धित स्वास्थ्यकर्मीले होम आइसोलेसनका लागि निर्देशन दिन सक्ने शाही बताउँछन् । घरमै आइसोलेसन बस्नका लागि निजले पालना गर्नुपर्ने पक्षहरूको बारेमा मन्जुरीनामा गराई आइसोलेसन राख्न सकिने छ भने होम आइसोलेसनमा रहँदा निम्न कुराहरु पालना गर्नु पर्ने शाही बताउँछन् ।

१) संक्रमित बस्ने कोठा प्रकाश प्रयाप्त आउने तथा हावा चल्ने छुट्टै कोठा हुनु पर्ने।
२) उपचार अवधिभर बिरामी घर बाहिर ननिस्कने र आवश्यक पर्ने सामाग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने ।
३) रोग प्रतिरोधात्मक क्षमता बढाउन पोसिलो खानेकुरा आवश्यक भएकाले खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तै : पर्याप्त मात्रामा पानी , फलफूल तथा झोलिलो ,पोसिलो प्रोटिन युक्त खानेकुराहरू खाने।
४) प्रयोग गरिएका भाडाहरू आफैले सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुके पछि मात्र पुनः प्रयोग गर्ने ।
५) संक्रमितका लागि स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने ।
६) हात धुने बेसिनहरु संक्रमणको श्रोत हुन सक्ने पर्याप्त जानकारी गराई दाँत माझ्ने ब्रसलगायतका सामानहरु राख्ने तथा छुट्टै बेसिनको प्रयोग गर्ने ।
७) धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसनका ह्यान्डल, टेबल तथा अन्य सामाग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसईन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने ।
८) हात धुने साबनु र पानीको पर्याप्त व्यवस्था पर्ने र सबै सदस्यहरुले समय समयमा सफा गर्ने ।
९) भाँडाकुँडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मेसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाउने ।
१०) निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने ।
११) बढी जोखिममा रहने समूहहरू जस्तै : दीर्घरोगीहरू, ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्ने ।
१२) दिनमा कम्तिमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने।
१३) हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई फोन वा एसएमएसबाट जानकारी गराउने ।
१४) निम्न अवस्थाहरू देखिएमा संक्रमित वा संक्रमितको हेरचाहमा संलग्न व्यक्तिले तरुन्तै सम्बन्धित स्थ्यकर्मीहरुलाई जानकारी दिनुपर्नेछ: • श्वासप्रश्वासमा कठिनाइ भएमा , • छाती दुखे वा भारी महससु भएमा , • ओठ तथा अनहुार नीलो देखिएमा , • होस हराएमा, • अन्य कुनै जटिल अवस्था देखिएमा ।

प्रतिक्रिया दिनुहोस्