पेसागत रक्षाका लागि नागरिक दैनिकमा पत्रकार, कर्मचारी र मजदुरको धर्ना

91

काठमाडौं–नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पेशागत रक्षाका लागि सत्याग्रह सुरू गरेका छन्। नेपाल रिपब्लिक मिडिया प्रालिले सञ्चालन गरेको नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा सोमबारदेखि सत्याग्रह सुरू भएको हो।

काठमाडौं बागदरबारमा रहेको कार्यालय अगाडि नागरिक दैनिकको तेस्रो पृष्ठ हेर्दै आएका नाइट डेस्कमा कार्यरत् सुविद गुरागाईं सत्याग्रह बसेका छन्। उनको समर्थनमा अन्य सहकर्मीले पनि साथ दिएका छन्। ‘लकडाउनका बेला घर पठाइएका श्रमजीवीहरूलाई एउटा मेल पठाएर तेरो जागिर छैन भन्न मिल्छ?,’ गुरागाईंले सेतोपाटीसँग भने, ‘आजै एउटा कर्मचारीलाई तेरो जागिर सकियो, अर्को मानिस राखियो भन्ने जवाफ दिएछन् यस्तो गर्नु त बेइमानी हुन्छ नि!’ उनले असारमा प्रकाशन गृहले काममा बोलाए पनि आफूहरू बाहिर रहेको र बिरामी भएकोले कार्यालय आउन नपाएको उनले बताए।

‘म बिरामी थिएँ। हात नचल्ने समस्या थियो। थेरापी गराइरहेको थिएँ। यसबारे त्यसबेलै अस्पतालको रिपोर्टहरू कार्यालयमा जानकारी पठाएको हुँ,’ उनले भने, ‘अरू साथीहरूलाई पनि यस्तै समस्या थियो। लकडाउनका बेला उपत्यकाबाहिर भएका कर्मचारी कसरी काठमाडौं आउने? आउन पाइएकै थिएन।’ वर्क फर्म होममा राखे पनि नियतवश आफूहरूलाई काम नदिइएको उनले बताए।

‘यसमा पनि प्रकाशन गृहले भेदभाव गर्‍यो। कसैलाई अनलाइनबाटै काम गर्न दिइएको छ तर मलाई त अनलाइनबाट पनि काम गर्न दिइएन। जसरी पनि दु:ख दिने र जागिरबाट निकाल्न खोजिएको थियो,’ उनले भने। उक्त दैनिकमा कार्यरत अर्का एक पत्रकारका अनुसार नियमित तलब दिइएको छैन। ‘जेठ र असारको तलब बल्लबल्ल पाइएको छ,’ उनले भने, ‘दुई महिनाको तलब पाएका छैनौं।’ विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशन गृहले नियमित तलब नदिएको उनले जानकारी दिए।

‘कोरोनाका बेला जोखिम मोलेर रिपोर्टिङ, सम्पादन लगायतका कामहरू गरिएको छ, तैपनि नियमित तलब पाइएन,’ उनले भने, ‘लकडाउनका बेला नि:शुल्क पत्रिका बाँडेको प्रकाशन गृहले दिनरात नभनी काम गरिरहेका पत्रकार, कर्मचारी र मजदुरलाई नियमित तलब दिएन।’ नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ।

कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ। महासंघका महासचिव रमेश बिष्टका अनुसार विभिन्न प्रकाशन गृह गरी १२ वटा प्रकाशन गृहमा पारिश्रमिक नदिने र कर्मचारी निकालिएका घटनाबारे महासंघको जानकारीमा छ। ‘केही सञ्चार गृहमा समस्या समाधान भएका पनि छन्। तर केहीमा भने दबाबमूलक कार्यक्रम गर्दा पनि समस्या समाधान भएन। यसबारे महासंघले प्रेस रजिष्ट्रार कार्यालयमा जानकारी गराइएको भए पनि कुरा मिलेन। अब श्रम अदालतमा मुद्दा हाल्ने तयारी छ,’ महासचिव बिष्टले सेतोपाटीसँग भने।

पारिश्रमिक समस्या नागरिक, कान्तिपुर, अन्नपूर्ण, कारोबार दैनिकलगायतमा देखिएको स्रोतको भनाइ छ। ‘कोरोनाका बाहनामा मिडिया सञ्चालकहरूले आफूखुसी नियम बनाएर पत्रकार, कर्मचारी र मजदुरलाई कार्यालय नआउनू भन्दै जबरजस्ती घरमा राखेका छन्,’ उक्त स्रोत भन्छ, ‘श्रमजिवीलाई राजीनामा दिन दबाब दिने गरिएको पाइएको छ। महिनौंसम्म तलब दिइएका छैनन्।’

महिनौंसम्म पनि तलब नदिने घटनाबारे पत्रकार महासंघमा पुगेपछि गत फागुन ३ गते नै महासंघ बैठकले समस्या समाधान गर्न सञ्चारमाध्यम सञ्चालकहरूलाई आग्रह गरेको थियो। समस्या समाधान नभएपछि श्रमजीवी पत्रकारहरूको सहभागितामा गत साउन १९ गते बबहरमहलमा पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन पनि भएको थियो।

नागरिक दैनिकले भने पत्रकारहरूलाई लकडाउन सुरू भएपछि ओर्क फर्म होम राखेको र असारदेखि काममा बोलाए पनि नआएकोले केही समस्या देखा परेको बताएको छ। नागरिकको व्यवस्थापनले भने पत्रकार, मजदुर र कर्मचारीलाई चैत, वैशाख, जेठ महिना वर्क फ्रम होममा राखिएको तर असारमा काममा बोलाउँदा उनीहरू नआएपछि समस्या उत्पन्न भएको बताएको छ।  समस्या समाधानका लागि छलफल गर्दैछौं।’ असारसम्मको तलब पनि केही दिनअघि दिइसकेको व्यवस्थापनको दाबी छ।

प्रकाशन गृहका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले आफूलाई सत्याग्रहबारे जानकारी नभएको बताए। ‘म काठमाडौं बाहिर छु, यसबारे सम्पादकलाई सोध्नुहोला,’ उनले भने।

नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले यो सम्पादकीयभन्दा पनि व्यवस्थापकीय समस्या भएको र समाधानका विषयमा छलफल भइरहेको बताए।

साभारः सेतापाटी

Womui
Womui