आत्मसम्मानको पेसा बन्दै बाख्रापालन

101

‘पहिले पहिले खसीबाख्रा पाल्छु भन्दा लाज लाग्थ्यो । आजभोलि गर्व लाग्छ ।’ राप्तीसोनारी गाँउपालिका वडा नं २ मदुवाकी लिला भन्डारी भन्छिन्, ‘बाख्रा पालेकै कारण सम्मानित भएँ । सम्मानले अझै हौसला मिल्यो ।’ पुस्तौदेखि बाख्रापालन गर्दै आएको परिवारमा पहिलोपटक सम्मानको अनुभूति गरेकी उनले समुदायमा व्यवसायीको पहिचान पनि बनाइसकेकी छिन् । यति मात्र होइन, कृषि कर्म पनि सम्मानित पेसा रहेको बुझिन् ।

गाउँघरतिर घरको काम सकेर गृहिणीहरूले फुर्सदमा एउटा/दुईटा बाख्रा, कुखुरा, गाई गोरु पाल्ने पुर्खौदेखिको चलन हालसम्म कायमै छ । तर आजभोलि यहि पशुपालनबाट राम्रो कमाइ गर्न सकिने भएपछि बाँके राप्तीसोनारीका महिलाहरूले व्यवसायिक रूपमा पशुपालन गरिरहेका छन् । यो व्यवसायले महिलाहरूको आयस्तरमा मात्रै सुधार भएको छैन । उनीहरूले आत्मसम्मानको प्रत्याभूति समेत गर्न थालेका छन् । बाख्रापालन गरेर सम्मानित भएपछि आत्मसम्मानको महसुस भएको लीलाले बताइन् । पशुपालन थालेपछि यहाँका कृषक महिलाहको घरखर्चका लागि परिवारका अन्य सदस्यको कमाइमा भरपर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । यति मात्रै होइन, भारतका विभिन्न ठाउँमा कमाइका लागि जाने यहाँका श्रीमानहरू श्रीमतीसँगै पशुपालनमा रमाउन थालेका छन् । अर्काको देशमा पसिना बगाउनु भन्दा परिवारसँगै बसेर स्वदेशमै पसिना बगाउन पाएपछि उनीहरू पनि दंग छन् ।

समयसँगै गाईगोरु, बाख्रा, कुखुरा पाल्नेहरूलाई गोठालोका रूपमा मात्र नभई हेयका दृष्टिले हेर्ने चलन फेरिएको छ । वस्तुभाउलाई पनि व्यवसायिक रूपमा अगाडि बढाउन थालिएको छ । यसले गर्दा उनीहरूको आम्दानीको श्रोत नै बस्तुभाउ पालन बनेको छ भने यसैबाट घरपरिवारको खर्च टर्छ । मासुजन्य पौष्टिक आहारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता पनि हटेको छ ।
पशुपालन गर्न थालेपछि यहाँका सामान्य गृहिणीले पनि महिनामा ८÷१० हजार रूपैयाँ कमाउने गरेको गाउँपालिकाले जनाएको छ । पशुपालनले रोजगारी दिनुका साथै गृहिणी महिलाहरूको जीवनशैलीमा पनि परिवर्तन आएको छ । हिजो गोठालोको रूपमा मात्रै चिन्नेहरूले आजभोलि पशुपालक व्यापारीका रूपमा चिन्न थालेका छन् । साथै सम्मानजनक व्यवहारसमेत गर्न थालेका छन् । यो यहाँका महिलाहरूका लागि ठूलो परिवर्तन हो । आत्मसम्मानले पशुपालन गर्न थप हौस्याएको कृषक महिलाहरू बताउँछन् ।

महिलाहरूमा यो परिवर्तन आएको धेरै समय भएको छैन । ४÷५ वर्ष मात्रै भयो, उनीहरूले यो खुसी भेटेको । महिला समूह, स्थानीय सरकार (गाँउपालिका, वडापालिका) लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगका कारण उनीहरूको जीवनशैलीमा परिवर्तन आएको हो ।

लीला जननी सामाजिक उद्यमी सञ्जालमा सदस्यछिन् । यो सहकारीमा आबद्ध भएको ३ वर्ष भयो । सहकारीको सहयोगका कारण एउटा÷दुइटा खसी पाल्ने उनीसँग १० वटा खसी छन् । यस्ता समूह सहकारीको साथका कारण यहाँका महिलाहरूको जीवनशैली बद्लिएको उनी बताउँछिन् । गाउँमा रहेको उनी आबद्ध यो सहकारीमा मात्रै ६ सय २ जना महिला आबद्ध छन् । उनीहरूले पनि बाख्रापालन, भैँसीपालन, बंगुरपालन गरेका छन् । धेरैजसोले पुर्खौदेखि पाल्दै आएको र पाल्न सहज भएका कारण बाख्रापालन गरेको बताए । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि परिवार पाल्न सहज भएको लीलाले बताइन् ।

उनीजस्तै, राप्ती सोनारीकै ५० वर्षीया झलकुमारी ओली पनि बाख्रापालनमा व्यस्त छिन् । उनले पनि ९÷१० बाख्रा नियमित रूपमा पालीरहेकी छिन् । उनी पनि बाख्रा पहिलेदेखि नै पाल्थिन् । तर आजभोलि सहकारीबाट बाख्रापालन सम्बन्धी ज्ञान सीप आर्जन गर्ने मौका पाइन् । उक्त ज्ञानका कारण उनले बाख्रापालनलाई व्यवसायिक रूपमा सुरु गरिन् । यसैबाट पारिवारिक खर्च टर्नुका साथै छोराछोरीको पढाइ खर्च टर्ने गरेको उनको भनाइ छ । यसैबाट उनका छोराछोरीले स्नातक तह पनि पढ्न पाएको उनी बताउँछिन् ।

बाख्रापालन गर्ने महिलाहरूका लागि एउटा समस्या थियो, बाख्रा बिक्री नहुने । तर आजभोलि यो समस्या पनि समाधान भइसकेको छ । ‘पहिले पालेका खसी बेच्न दसँै नै कुनुपर्ने अवस्था थियो । तर अहिले चाहेको समयमा बेच्न पाइन्छ,’ ओलीले भनिन् । बाख्रा पाल्न थालेपछि सहकारीले घाँसका बेर्ना सहयोग गरेको उनी बताउँछिन् । बाख्राका लागि घस काट्न जंगल जानुपथ्र्यो । अहिले घाँस पनि घरमै रोपिएको उनले बताइन् । जंगलमा घाँस काट्न जाँदा यहाँका धेरै महिलाहरू बाघको आक्रमणमा पर्ने गरेका छन् । नजिकै बाँके राष्ट्रिय निकुन्ज भएका कारण यहाँका जंगली जनावरले बेलाबेलामा पशुपालन, बालीनाली र मानवीय क्षतिसमेत गर्ने गरेका छन् । यो वर्ष पनि बाघले बाँके निकुन्ज क्षेत्रमा आधादर्जन मानिसमाथि आक्रमण गरेको थियो । त्यसमध्य केहिले ज्यान गुमाइसकेका छन् ।

निकुन्ज नजिक भएका कारण यहाँ पशुपालन फस्टाएको हो । तर बेलाबेलामा जंगली जनावरको आक्रमण हुने गरेका कारण समस्या छ । केहि सरकारी तथा गैरसरकारी निकायको सहयोगका कारण केहि व्यवसायी महिलाहरूले घरमै घाँसखेती गर्न थालेका छन् ।

सहकारीले किसानहरूलाई आवश्यक परेको समयमा पेस्की पनि दिने गरेकाले बाख्रापालनमा थप सहज भएको उनीहरूको भनाइ छ । ५३ किलोको खसी पहिले २ सय ५० रूपैयाँमा बेच्नुपरेको दुखेसो सुनाउँदै ओलीले अहिलेका अवस्थामा ठूलो मोल पाउने गरेको बताइन् । गाँउपालिकाका अधिकांश परिवारहरू कृषिमा आश्रित छन् । कृषि पेसाबाटै खुसी र आत्मसम्मान पाएकोमा उनी पनि दंग छिन् । पहिले यो पेसा गर्दा हेप्ने चलन अहिले हराउँदै गएको उनको पनि अनुभव छ ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ कै ३० वर्षीया धन कुमारी खड्काको खोरमा पनि अहिले १५ वटा खसीबाख्रा छन् । उनी पनि पहिले एउटा÷ दुईटा खसी पाल्थिन् । आजभोलि व्यवसायिक रूपमा बाख्रापालन गरेकिछिन् । यी खसीबाख्रा बेच्न उनलाई पनि पहिलेको जस्तो समस्या छैन । गत वर्ष मात्रै १० वटा बाख्रा बेचेको उनले बताइन् । यो वर्ष दसँैको समयमा मात्रै उनले ४ वटा बेचिन् । हेफर संस्थाको सहयोगमा उनले बाख्राका लागि व्यवस्थित खोर निर्माण गरिसकेको समेत बताइन् ।

महिलाहरूले बाख्रापालनसँगै स्वस्थ बाख्रा कसरी उत्पादन गर्ने भन्नेमा समेत ध्यान दिन थालेका छन् । स्वस्थ पशुपालनका लागि पशु चिकित्सक, भेटरीनरी, औषधिलगायतका सामग्रीको व्यवस्था गरिएको गाँउपालिकाले जनाएको छ ।

पहिले बिचौलियाका कारण बाख्रापालक किसानले राम्रो मूल्य नपाउने समस्या थियो । तर आजभोलि सहकारीमार्फत् सहजै बेच्न पाइने भएकाले राम्रो मूल्य पाउने गरेको उनीहरूले बताएका छन् । अनधिकृत रूपमा विभिन्न बाटो प्रयोग गरेर अबैध रूपमा नेपाल खसी भित्रिरहेको बताउँदै बाख्रापालक व्यवसायीहरूले यसमा कडाइ गर्न माग गरेका छन् । अवैध रूपमा नेपाल भित्रिने पशुहरूलाई कडाइ नगर्ने तर यहाँ उत्पादन गरिएका पशुहरू जिल्ला बाहिर ओसारपोसार गर्दा कृषकहरूलाई दुःख दिने काम गर्ने गरिएको उनीहरूले बताए ।

नेपालगन्जको जमुनाह नाकाबाट बर्सेनि सयौंको संख्यामा नेपाल भित्रिने खसीबोकाको आयात शून्यमा झरेको छ । एक वर्ष अघि पशु क्वारेन्टाइन नीतिमा कडाइ गरिएपछि आयात ठप्प भएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । आधिकारिक रूपमा यो अवधिमा कुनै पनि खसीबोका नाकाबाट नभित्रिएको कार्यालयले जनाएको छ । भारतबाट खसीबोका तथा पशुपंक्षीजन्य उत्पादन नेपाल भिœयाउँदा भारतीय क्वारेन्टाइनले २१ दिनसम्म राखेर पशुको स्वास्थ्य अवस्था जाँच गर्ने र स्वस्थ भए नभएको जाँच गरेर मात्र नेपाल पठाउने गरेको जनाएको छ । झन्झटिलो प्रक्रिया र लामो समय लाग्ने भएका कारण पशु आयात शून्य रहेको पशु क्वारेन्टन कार्यालयको भनाइ छ । नेपालगन्ज क्वारेन्टाइनमा पनि शंका लागेका पशुहरूलाई २१ दिन राखेर चेक जाँच गर्ने गरिएको छ । कार्यालयका अनुसार आर्थिक वर्षमा ७५÷७६ मा ६९ हजार ३ सय ३८ वटा खसीवोका नाकाबाट नेपाल भित्रिएका थिए । तर ०७५ फागुनदेखि क्वारेन्टाइन प्रक्रियामा कडाइ गरिएपछि आयात शून्यमा झरेको कार्यालयले जनाएको छ । यहाँका बाख्रापालक व्यवसायीलाई प्रोत्साहन गर्नका लागि र अवैध पैठारी रोक्न प्रहरी गस्ती टोली सीमामा सक्रिय बनाइएको कार्यलयको भनाइ छ ।

बाख्रापालक कृषकहरूको सहजताका लागि राप्तीसोनारीको ढकेरीमा सामाजिक उद्यमी जिल्ला सहकारी संघले बाख्राखोर निर्माण गरेको छ । कृषक महिलाहरूले आफूले बेच्न चाहेको समयमा यो सहकारीमा बाख्रा बेच्छन् । यहाँ उत्पादित बाख्राहरू नेपालगन्ज, दाङ, काठमाडांै, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
गएको दसैँको अवधिमा मात्र ५ करोड २५ लाख रूपैयाँ बराबरको खसीबोका बिक्री भएको थियो । ग्रामीण क्षेत्रमा रहेका कृषक महिलाले उत्पादन गरेका खसीबोका राप्तीसोनारीस्थित ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघमार्फत् बिक्री गरेका हुन् । सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका ४ सहकारीमा आवद्ध ७ हजार बढी महिला उद्यमीले खसीबोका उत्पादन गरिरहेका संघका अध्यक्ष गंगा चन्द ठकुरीले बताइन् ।

बाँकेको राप्तीसोनारी गाँउपालिकामा बाख्रापालनका लागि राम्रो सम्भावना रहेकाले किसानको जीवनस्तर सुधारका लागि उनीहरू लक्षित बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार, गाँउपालिकाका अधिकांश मानिस कृषिमा आश्रित रहेकाले पशुपालनका लागि बजेट छुट्याइएको हो । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०७६÷०७७ मा कृषि क्षेत्रका लागि १ करोड ५ लाख रूपैयाँ र पशुका लागि ४५ लाख रूपैयाँ विनियोजन गरिएको अध्यक्ष थारुले जानकारी दिए । महिलाहरूले सहकारीमार्फत् काम गरिरहेकाले सहकारीका लागि २५ लाख ७ हजार ५ सय रूपैयाँ विनियोजन गरिएको अध्यक्ष लाहुराम थारुले बताए ।

बाँकेका ११ हजार महिलाले खसीबोका, बंगुर सुंगुर, कुखुरापालनलगायतका पशुपालन गर्दै आएका छन् । जसमध्ये ७ हजार बढीले बाख्रापालन गरेका छन् । अन्य पशु भन्दा बाख्रा पाल्न र सहज हुने भएकाले महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षण बढेको अध्यक्ष थारुको भनाइ छ । ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि पशुपालनतर्फ आकर्षित गर्ने खालका अनुदान, ऋण लगानीलगायतका विभिन्न कार्यक्रम गरिएको उनले बताए । चाडवाडको समयमा बिचौलियाले गाउँमा महिला उद्यमीको घरमै पुगेर ठगी गरेर खसीबोका खरिद बिक्री गर्ने भएकाले यसरी महिला उद्यमीलाई ठगिन नदिन प्रहरीको सहयोग मार्फत् सहजीकरण गर्ने उपायबारे गाउँपालिकाले सहयोग गर्दै आएको छ ।

सबै उद्यमी गृहिणी महिला मात्रै छन् । प्रदेश ५ का कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलले स्वस्थ पशु मात्र नेपाल भिœयाउने लक्ष्यले भन्सारमा कडाइ भएपछि नेपाली किसानहरू उत्साहित भएको बताइन् । तर ठूलाठूला होटेलहरूले साना किसानको उत्पादन भन्दा पनि बाहिरी देशबाट आयात गर्ने गरिएको प्याकेजिङ मासु खाने गरेकाले समस्या रहेको उनको भनाइ छ । कृषिलाई प्राथमिकतामा राखेको बताउँदै कृषि मन्त्री पौडेलले बाँकेका महिला उद्यमीले उत्पादन गरेका खसी बजारीकरणका लागि सहकारी मार्फत् सहजीकरण र समन्वय गरिरहेको बताइन् । पशुपालक किसानका लागि बिना धितो ऋण लगानी कार्यान्वयन आउन लागेको समेत उनको भनाइ छ । किसानको उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने, युवाहरूलाई कृषिमा आकर्षण गर्ने योजना बनाइरहेको बताउदै प्रदेश सरकारले परम्परागत छोडेर आधुनिक तरिकाले उत्पादन थाल्ने गरी ज्ञान र सीपसहितको किसान उत्पादन गर्ने तयारी गरेको उनले बताइन् ।

Womui
Womui