विदेशबाट फर्कनेलाई हवाई टिकट पाउनै सकस

230


मालती खड्का
काठमाडौं,
कोरोना महामारीपछि विदेशमा ठूलो संख्याका नेपालीले रोजगारी गुमाए पनि उनीहरूलाई घर फर्कन समस्या परेको छ । सरकारले दैनिक आठ सयभन्दा बढीलाई विदेशबाट ल्याउन रोक लगाएपछि रोजगारी गुमाएकालाई घर फर्कन समस्या भएको हो ।

उडानको व्यवस्था हुन नसकेपछि रोजगारी गुमाएका श्रमिकले विदेशस्थित नेपाली नियोग घेराउ गर्न थालेका छन् । विदेशमा अलपत्र परेका तिनै श्रमिकले घर फर्कन दिनहुँजसो हारगुहार गरिरहेका छन् । तर उनीहरूको हारगुहार सरकारले सुनेको छैन । विदेशबाट फर्कनेको कोटा तोकिएपछि रोजगारी गुमाएका श्रमिक थप आर्थिक मारमा परेका छन् । जबकि अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघि वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक एक हजार पाँच सय नेपाली घर फर्कने गरेको सरकारी तथ्यांक छ ।

फागुन अन्त्यपछि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकाले फर्कनुपर्ने जति नेपाली फर्कन पाएका छैनन् । विदेशमा कति नेपालीले रोजगारी गुमाएर घर फर्कदैछन् भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन । गैरआवासीय नेपाली संघ लगायतका निकायले रोजगारी गुमाएर विभिन्न मुलुकबाट करिब १० लाख घर फर्कनसक्ने अनुमान गरेका छन् । नियमित अन्तर्राष्ट्रिय उडानपछि चार्टरमार्फत करिब ६० हजार घर फर्किएका छन् ।रोजगारी गुमाएका मात्र नभई नियमित प्रक्रियाअन्तर्गत घर आउने बिदा र श्रम सम्झौता सकिएकाको संख्या मात्र दुई लाख बढी पुगिसकेको छ । श्रम सम्झौता सकिएर पनि घर फर्कन नपाउँदा कैयन श्रमिक अलेखबद्ध हुन बाध्य छन् । अलेखबद्ध हुने श्रमिकलाई सम्बन्धित मुलुकले दण्ड, जरिवाना तिराउने गर्छ । अधिकांश गन्तव्य मुलुकका सरकारले पर्याप्त हवाई उडान सञ्चालन गर्न नसक्नुलाई नेपालको आन्तरिक समस्याको रूपमा बुझेकाले ती मुलुक श्रमिकप्रति लचक हुने सम्भावना नरहेको सम्बद्ध व्यक्ति बताउँछन्

विनरक इन्टरनेसनले सञ्चालन गरिरहेको हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले अहिलेसम्म घर फर्किएकामध्ये ४३ हजार रोजगारीका लागि विदेश गएका रहेको बताए । विदेशमा समस्यामा परेकालाई कसरी उद्दार गर्ने भन्ने बारेमा मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले अहिलेको समस्या समाधान गर्न हवाई उडानको संख्या वृद्धि गर्नुपर्ने बताए । उनले साउदीको रियाद र दमामबाट दैनिक पाँच÷पाँच हवाई उडान राख्न माग गरे । राजपुतले साउदीबाट घर फर्कन अहिलेसम्म २५ हजारले नाम दर्ता गराइसकेको जानकारी दिए । दूतासबासमा नाम दर्ता गराएकामध्ये हालसम्म आठ हजार पाँच सय मात्र घर फर्कन पाएका छन् ।
गैरआवासीय संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले कोरोनापछि रोजगारी गुमाएका करिब २० हजार घर फर्कनुपर्ने अवस्थामा रहेको बताएका छन् । मलेसियामा कोरोना नियन्त्रणमा आउने क्रममा रहे पनि रोजगारदातालाई पहिलेकै अवस्थामा पुग्न केही समय लाग्ने भएकाले नेपाली रोजगारी गुमाएर घर फर्कन थालेको उनको भनाइ छ । रोजगारी गुमाएका तत्काल घर फर्कन नपाए थप समस्या हुने उनको भनाइ छ । लकडाउनअघि टिकट काटेका करिब दुई हजार नेपाली हवाई उडान बन्द हुँदा घर फर्कन नपाएको समेत उनले बताए ।

संघकै कतार शाखाका वरिष्ठ उपाध्यक्ष उत्तम गुरुङले पर्याप्त हवाई उडानमा रोक लाग्दा श्रमिकलाई बस्न र खानाको समस्या भइरहेको बताए । उनले कतारबाट तुरुन्त १० हजारलाई फर्काउनुपर्ने बताए । सोही अन्तरक्रियामा बोल्दै परियोजनाकी डेपुटी चिफ अफ मिसन सविना प्रधानले असुरक्षित आप्रवासनले थप समस्या परेको बताइन् । उनले परियोजनाको सहयोगमा विभिन्न तीन गन्तव्य मुलुकमा घरफिर्तीको कार्यक्रम सञ्चालन हुन गइरहेको जानकारी दिइन् ।

Womui
Womui