जनसंख्यामा देशकै ठूलो गाउँपालिका

280

नेपालगन्ज सहरबाट पूर्व करिब ५६ किलोमिटरको दूरीमा राप्ती सोनारी गाउँपालिका कार्यालय रहेको छ । जनसंख्याको हिसाबले यो नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । १०४१.७३ वर्ग कि.मि क्षेत्रफल रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तरभावर क्षेत्रलाई समेटेको छ । यसको पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सिमानाले छोएको छ । साविकका ६ वटा गाविसहरू खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर यो गाउँपालिका निर्माण भएको छ । यो गाउँपालिका ९ वडामा विभाजित रहेको छ ।

पाटे बाघका लागि चिनिएको बाँके राष्ट्रिय निकुञ्जको धेरै भूभाग पनि यसै गाउँपालिका पर्दछ । आन्तरिक पर्यटकहरूका लागि ढकेरीमा रहेको वनस्पति उद्यान यस क्षेत्रकै लागि परिचित ठाउँ पनि हो । ढकेरीमै रहेको हात्तीसार र होमेस्टे पनि निकै प्रख्यात रहेको छ । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना पनि यसै गाउँपालिकाको प्रमुख आर्कषण पनि हो । यहाँ रहेको पुरानो खस्रे ताल संरक्षणको पर्खाइमा रहेको र पर्यटनका हिसाबले अगाडि आउन सक्ने क्षेत्र पनि हो । यहाँ पर्ने गाई लेक धार्मिक आस्थासँग जोडिएको छ । जस्तो सुकै खडेरीमा पनि यस लेकमा गएर पूजा गर्ने हो भने पानी बर्सिने जनविश्वास रहेको छ । यहाँ थारु जातिको बाहुल्यता पनि रहेको छ । थारु जातिले पुज्दै आएको भुवर भवानी मन्दिर यस क्षेत्रको सबैभन्दा चर्चित मन्दिर पनि हो । थारु संस्कृतिमा यो क्षेत्र निकै धनि छ । यो स्थानीय तह प्राकृतिक सम्पदामा निकै धनि रहेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु बताउनुहुन्छ । ‘यो गाउँपालिकाको भूभागलाई छोएर थुप्रै नदीनालाहरू बग्दै आएका छन् । यहाँ सिंचाइका थुप्रै सम्भावनाहरू रहेका छन् । तर पनि सोचे जस्तो सिँचाइ गर्न भने सकिएको छैन । यहाँ मानिसहरूको मुख्य पेशा भनेकै खेती किसानी हो । परम्परागत खेती किसानीलाई आधुनिकीकरण गर्न सकियो भने मनग्य आम्दानी गर्न सकिन्छ । यो गाउँपालिकाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला पर्दछ । टुकीमुनिको अँध्यारो जस्तै नजिकै विकसित नेपालगन्ज सहर भएपनि राप्ती सोनारी गाउँपालिका धेरै कुरामा पछाडि रहेको छ । यहाँका धेरै घरपरिवारहरू अहिले पनि बत्तीको उज्यालो देख्न पाएका छैनन् । गाउँमा विद्युतको पोल गाडिएको दशकौं भयो तर बिजुली छैन । यहाँका मानिसहरू विजुली आउने आशामा बाँचेको धेरै भयो । यो गाउँपालिकामा उर्वरायुक्त माटो छ । यसै गाउँपालिकाको वडा नं. १, २, ८ र ९ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । निकुञ्ज नजिकै भएकाले वन्यतन्तुहरूले बेलाबेलामा दुःख दिने गरेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री बताउनुहुन्छ । किसानले लगाएको बाली वन्यतन्तुहरूले नोक्सान गर्दैै आएका छन् । त्यसका लागि वडाको पहलमा तारजालीलगायत, जनचेतनाका कार्यक्रमहरू तीव्र गतिमा बढाइएको छ ।

राप्ती सोनारी गाउँपालिकाको वडा नं. २ मा सडक कालोपत्रे गर्ने कार्यलाई जोड दिइएको छ । शिक्षा, स्वास्थ्यलगायतका भौतिक पूर्वाधारको स्तरोन्नति गरिएको छ । वडा नम्बर २ का अध्यक्ष मदनकुमार ओलीले यो भौगोलिक रूपमा विटक वडा भएकोले गर्दा पर्यटन विकासमा समस्या परिरहेको बताउनुभयो । त्यसका लागि यहाँका सबै जनप्रतिनिधिहरू यो वडाको विकासका लागि रातदिन लागि परेका छन् । राप्ती नदी यस गाउँपालिका भएर बग्ने सबैभन्दा ठूलो नदी हो । वडा नं. ३ मा सिक्टा सिँचाइ आयोजनाको बाँध रहेको छ । बाँके जिल्लाको सुख्खा जमिनलाई सिँचाइ गर्न सरकारले केही दशक अघि यो आयोजना निर्माणका लागि पहल गरको थियो । फुर्सदको समयमा राप्तीलगायतका नदीहरूमा जाल हानेर, पासो थापेर माछा मारेको सहजै देख्न सकिन्छ । थारुहरूको विशेष बसोबास भएको वडा वडा नं. ३ हो । थारु संस्कृतिमा यो वडा निकै अगाडि रहेको छ । यहाँका थारु समुदायहरूले चाडवाडहरूमा आफ्नो भेषभूषाका साथ सांस्कृतिक कार्यक्रमहरू आयेजना गर्दै आएका छन् । भौतिक विकासलाई पहिलो प्राथमिकताका साथमा वडाले विकासका कार्य गरिरहेको वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारुले बताउनुभयो । यसका साथै वडाले धार्मिक तथा पर्यटन विकासका लागि पनि पहल गरिरहेको छ । अहिले यस वडामा आदिवासी जनजाति संग्रहालयको भवन निर्माण तथा मन्दिर संरक्षण गरिएको छ । राप्ती सोनारी गाउँपालिकाकोे वडा नं. ४ मा पुराना तथा स–साना योजनाहरू सम्पन्न भइसकेका छन् । अहिले ठूला योजनाहरू दु्रत गतिमा अगाडि बढिरहेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रको लागि पनि राम्रै सम्भावना बोकेको यस्ता विकासे काम पूरा भएमा पर्यटकलाई सहज हुनेछ । त्यसका लागि यहाँका सबै जनप्रतिनिधि, वडाका कर्मचारी र सबै स्थानीयहरू लागि परेका वडा नम्बर ४ को अध्यक्षका अध्यक्ष कान्छा थारु बताउनुहुन्छ ।

बाँकेको विकट मानिने यस गाउँपालिकाका अधिकांश बासिन्दाहरूको दैनिकी साइकलले धानेको छ । यातायातको मुख्य साधन भनेकै साइकल नै हो । मोटरबाटो निर्माण भएपनि नियमित रूपमा सवारी साधनहरू चल्न सकेका छैनन् । कृषि तथा पशुपालन यहाँका बासिन्दाहरूको मुख्य पेशा हो । उज्यालो भएदेखि रात नपरुन्जेलसम्म खेतबारीमै यहाँका मानिसहरूको दिनचर्या बित्ने गरेको छ । राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५ मा गाउँ–गाउँका ग्रामीण सडकमा नाला व्यवस्थापनको काम सम्पन्न भइसकेका छन् । यस वडामा खोप क्लिनिक सञ्चालनमा आएको छ । वडाका मठमन्दिर संरक्षणलगायतका भौतिक निर्माणका कामहरू सम्पन्न भएका वडा नम्बर ५ का अध्यक्ष झल्लु थारुले जानकारी दिनुभयो । पर्यटनका हिसाबले पनि यो वडामा त्यस्ता थुप्रै कुराहरू रहेका छन् । गाउँपालिकामा बाढीले सबैभन्दा प्रभावित वडा ६ नम्बर हो । हरेक वर्ष राप्तीलगायतका नदीहरूमा आउने वर्षे भेल यहाँका घरहरूमा पस्ने गरेको छ । जसका कारण खेतीयोग्य जमिन, अन्नबालीलगायत व्यापार, व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ । राप्ती नदीमा बाँध बाँधेर पर्यटकीय क्षेत्रको विकास गरी यहाँका मानिसहरूलाई नाफामूलक रोजगारीमा जोड्ने वडाको लक्ष्य रहेको वडा नम्बर ६ का अध्यक्ष जनक थारुले बताउनुभयो । यस वडामा थारु जातिको संग्रहालय निर्माण भएर हाल संचालनमा रहेको छ । यहाँका गरिब तथा विपन्न समुदायका मानिसहरूलाई होमस्टेलगायतका व्यवसाय संचालनमा जोड्ने काम सुरुवात गरिएको छ ।

पर्यटनका अथाह सम्भावना बोकेको वडा नम्बर ७ मा बिजुली बत्ती अहिले पुगेको छ । टोल टोलमा चाँडै बिद्युत पुर्‍याउने वडा नम्बर ७ का अध्यक्ष राम लखन थारुले बताउनुभयो । ‘यहाँका जनप्रतिनिधिहरू रातदिन बिजुली बत्ती ल्याउने कामका लागि परेका छौं,’ उहाँको भनाइ छ । यस गाउँपालिकाको वडा नं. ८ को पहलमा शमशेरगञ्जमा पर्यटन विकासका लागि पार्क निर्माण गरिएको छ । जसले गर्दा समग्र बाँकेकै पहिचान बन्ने वडाले विश्वास राखेको छ । भौतिक पूर्वाधारदेखि शिक्षा स्वास्थ्य, बाटोघाटोजस्ता अति आवश्यकीय पूर्वाधारहरूको स्तरोउन्नति भएको वडा नम्बर ८ का अध्यक्ष खुमबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर ९ ले भौतिक तथा सामाजिक विकासका कार्यलाई निरन्तरता दिइरहेको छ । शिक्षा, स्वास्थ्य, सडक, तटबन्धन, खानेपानी र लक्षित कार्यक्रम जस्ता विकास गाउँ–गाउँमा पु¥याइरहेको छ । यो वडा पशुजन्य खसी, बोका उत्पादनका लागि राम्रो मानिएको वडा पनि हो । वडाले गर्ने निर्णयबाट स्थानीयहरू पनि खुसी भएको वडा नम्बर ९ का अध्यक्ष महावीर ओलीले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका स्रोत साधनले भरिपूर्ण छ । अहिले यहाँ भएका स्रोतसाधनहरूलाई संकलन गर्ने कार्यले तीव्रता लिएको छ । पर्यटनका लागि प्रचुर सम्भावना भएका क्षेत्र पहिचान गरी आन्तरिक कार्ययोजना बनेर कार्यान्वयनको चरणमा रहेको छ । राप्तीसोनारी गाउँपालिका प्राकृतिक सौन्दर्यको खानी हो । पर्यटकीय हिसाबले यहाँ अथाहा स्रोतहरू रहेका छन् । तालतलैया, हरिया वनजंगल, मठ मन्दिर, खोलानाला तथा मिश्रित बसोबासले यस गाउँपालिकाको महत्व झल्काएको छ । मेला महोत्सवलगायतका विभिन्न कार्यक्रमहरूमा थारु जातिको कला संस्कृति हेर्न पाइने भएकाले पनि आन्तरिक पर्यटनलाई अगाडि बढाउन सकिने अवस्था रहेको छ ।
वि.सं. १८७३ को सुगौली सन्धिमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा इष्ट इण्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरूप अहिलेको बाँके जिल्ला पनि एक हो । यहि बाँके जिल्ला अहिले प्रदेश नं. ५ मा रहेको छ । यसै जिल्लाको पूर्वको रहेको र धेरै विकासका सम्भावना भएको स्थानीय तह हो राप्ती सोनारी गाउँपालिका ।

Womui
Womui