राप्रपा नेपाल पनि संविधान निर्माण प्रक्रियाबाट बाहिरियो

45

काठमाडौं, भदौ २३–
चौथो ठूलो दल राप्रपा नेपालले संविधान निर्माण प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ । आज बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

अध्यक्ष कमल थापा
अध्यक्ष कमल थापा

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा उभिएका थिए । तर, पार्टी अध्यक्ष थापाले भने प्रक्रियामा रहिरहनुपर्ने भन्दै निर्णयमा नोट अफ डिसेन्ट लेख्ने बताए । अध्यक्षले नै नोट अफ डिसेन्ट लेख्ने भनेपछि नेताहरु छलफलमा जुटिरहेका बेला थापाले ट्वीट गर्दै संविधानसभाबाट अलग हुने घोषणा गरे । संविधान जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाबेला असन्तुष्ट दलहरुले संविधान सभा छाड्ने क्रम बढेको छ ।

यसअघि फोरम लोकतान्त्रिक पनि संविधान निर्माण प्रक्रियाबाट अलग भएको थियो ।  यस्तै संघिय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी संविधान सभाबाट बाहिरिएका छन् । थरुहट तराई पार्टी, फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाबाट अलग भइसकेका छन् ।

Womui
Womui