गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्ध राप्ती सोनारी

366

७५ हजार जनसंख्या रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । जनतालाई गाउँघरमै सेवासुविधा दिन स्थानीय तहहरूलाई अधिकार सम्पन्न गराई अघि बढेको नेपालको प्रशासनिक संरचना अनुसार जनताको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चितताका लागि गाउँपालिका कसरतरत छ । भूगोल र जनसंख्याको आकार ठूलो हुनु, नमिलेको भूगोल तथा छरिएको बस्तीका कारण गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकालाई चुनौती त छ । तर, उपलब्ध स्रोतसाधन, विद्यमान भौतिक संरचना र जनशक्तिको एकीकृत प्रयासले गाउँपालिकाका ९ वटै वडामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कञ्जुस्याइँ गर्नुपर्ने अवस्था देखिएको छैन ।

गाउँपालिकाको स्वास्थ्य शाखामा दुईजना कर्मचारीको दरबन्दी छ । एकजना करारमा छन् भने अर्का एकजनालाई पनि स्टोर हेर्ने गरी कार्यालय सहयोगीका रूपमा राखिएको छ । अप्ठेरो पर्दा काजमा कर्मचारी बोलाएर पनि काम गरिँदै आएको स्वास्थ्य शाखा प्रमुख विष्णु चुँडाली बताउनुहुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पालिकामा एउटा सामुदायिक स्वास्थ्य इकाई, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र ६ वटा बर्थिङ सेन्टर सहितका स्वास्थ्य चौकी छन् । कर्मचारी समायोजनले स्वास्थ्यमा कर्मचारी बढी नै रहेको गाउँपालिकामा बर्थिङ सेन्टर र फिल्डमा काम गर्नका लागि ९ जना अनमी करारमा नियुक्त गरिएको छ । जनताले स्वास्थ्य सम्बन्धी सहज सेवासुविधा पाउन भन्ने उद्देश्यले यही आर्थिक वर्षमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा स्वास्थ्य चौकी स्थापना गरिएको छ । यस अघि ६ नम्बर वडाका स्थानीयले वडा नम्बर ७ मा रहेको फत्तेपुस्थित स्वास्थ्य चौकीबाट सेवा लिइरहेका थिए ।

महादेवपुरी र कचनापुरमा सञ्चालित ल्याबका लागि पनि कर्मचारी करारमा नियुक्त गरेर काम सुचारु गरिएको छ भने बैजापुर र बिनौनामा पनि ल्याब सञ्चालनको तयारीमा छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण ती दुई ठाउँमा तत्काल ल्याब सुरु हुन सकेको छैन । गाउँपालिकाका ९ वटा स्वास्थ्य संस्थामा झन्डै सय जना कर्मचारी अहिले कार्यरत छन् ।

गाउँपालिकाभर १ सय १० जना स्वास्थ्य स्वयम्सेविका खटाइएको छ । ३४ वटा खोप क्लिनिक छन् । गाउँघर क्लिनिक पनि २० वटा छन् । स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्तीमै पुगेर गाउँघर क्लिनिकबाट सेवा दिइएको छ । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत् पालिकामा ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेर जानकारी लिने कार्य पनि २०७५ चैतदेखि सञ्चालनमा छ । ‘८४ कटेका ज्येष्ठ नागरिकलाई घरमै गएर भेट्ने, समस्या रेकर्ड गर्ने र भेरिफाइ गर्ने काम गरिरहेका छौं, सम्भव भए हामीले नै औषधि दिन्छौं नत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेमा जानकारी गराउँछौं,’ स्वास्थ्य शाखा प्रमुख चुँडाली भन्नुहुन्छ । ९० प्रतिशत बढी बालबालिकालाई खोप दिइएको छ । गाउँपालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्य छ । २४ महिनासम्मका बालबच्चा तौल्ने सरदर दर भने कमनै रहेको छ । वर्षमा १८ सय जना गर्भवती हुने गरेकोमा सुत्केरी १५ सय हुने गरेको तथ्यांक छ । सबैले स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेका छन् । गाउँपालिकाकै स्वास्थ्य संस्थामा ७० प्रतिशत र बाँकी अन्य अस्पतालहरूमा सुत्केरी हुने गरेका छन् । निःशुल्क पाइने ३५ प्रकारका औषधि पनि राप्तीसोनारीवासीले पाइरहेको स्वास्थ्य संस्थाहरू बताउँछन् ।

आर्थिक वर्ष २०७४–७५ मा स्वास्थ्य क्षेत्रमा ३९ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा करिब १ करोड बजेट विनियोजन गरेकोमा चालू आर्थिक वर्ष २०७६–७७ का लागि १ करोड २० लाख रूपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा एम्बुलेन्स सेवा र ल्याब सञ्चालनका लागि पनि उक्त बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले उक्त बजेटबाट स्वास्थ्य स्वयम्सेविकालाई पनि मासिक १ हजार रूपैयाँका दरले पारिश्रमिक दिनुका साथै मोबाइल रिचार्ज पनि गर्दै आएको छ । त्यस्तै आमा सुरक्षा कार्यक्रमअन्तर्गत् नेपाल सरकारबाट यातायात खर्च स्वरूप रु.८ सय र १ हजार रूपैयाँ प्रदान हुँदै आएकोमा गाउँपालिकाले प्रति सुत्केरी आमालाई पोषण खर्च स्वरूप ५ सय रूपैयाँ पनि दिँदै आएको छ । बालबालिकाको राम्रो वृद्धिका लागि आइएनएफले वडा नम्बर ३, ४, ५, ६ र ७ मा गर्दै आएको कार्यक्रमको प्रतिफल पनि राम्रो देखिएको स्वास्थ्य शाखा प्रमुख चुँडाली बताउनुहुन्छ ।

आर्थिक चालू २०७७।०७८ मा संचालन हुने गरी वडा नम्बर ४ बैजापुरमा रहेको बैजापुर स्वास्थ्य चौकीलाई १५ शैड्ढयाको अस्पताल बनाउने गृहकार्य थालिएको छ । त्यसका लागि आवश्यक एमबीबीएस डाक्टर गोविन्द चौधरीलाई नियुक्ति गरेर स्वास्थ्य चौकीबाट अस्पतालकै सेवा सुविधा दिँदै आएका गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

एउटा मात्र वडामा स्वास्थ्य संस्था नरहेको अवस्थामा तत्काल सबै वडामा स्वास्थ्य संस्था विस्तार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउनुहुन्छ । ‘हामीसँग जनशक्ति पर्याप्त छ, औषधिको अभाव छैन, स्थानीयले राम्रो स्वास्थ्य सेवा पाइरहेका छन्,’ बस्नेत भन्नुहुन्छ,‘स्वास्थ्य अत्यन्तै प्राथमिकतामा रहेको विषय हो, अतिआवश्यक सेवा हो, यसमा कुनै कमी हुन नदिएर काम गर्छौं ।’ गाउँपालिकाका अध्यक्ष लाहुराम थारु आफू निर्वाचित भएर आएदेखि नै जनस्वास्थ्यका विषयमा निकै संवेदनशील भएर काम गरिरहेको बताउनुहुन्छ । ‘आवश्यक भौतिक संरचना विस्तार, उपकरण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य संस्थाहरूको स्तर वृद्धि गर्दै गुणस्तरीय सेवा दिन हामी सधैं तत्पर छौं,’अध्यक्ष थारु भन्नुहुन्छ । समयमै गर्ने गरी औषधि खरिद प्रक्रियालाई सहज बनाएर समयमै स्वास्थ्य केन्द्रहरूमा औषधि ढुवानी गर्न गाउँपालिकाले उक्त प्रयोजनका लागि गाडीसमेत खरिद गरेको अध्यक्ष थारु बताउनुहुन्छ । सबै वडामा एम्बुलेन्स सेवाका लागि पनि गाउँपालिकाले प्राथमिकता दिएर काम गरेको उहाँ भन्नुहुन्छ । सबै वडावासीले प्राथमिक उपचार सेवा पाउनुपर्छ भन्ने उद्देश्यसाथ अब वडा नम्बर ६ मा पनि स्वास्थ्य संस्था स्थापनाको तयारी गरिएको छ । अहिले कोरोना संक्रमण रोक्न गाउँपालिकाले यथाशक्य कोसिस गर्दै तद्अनुरूप आफ्ना क्रियाकलाप गरिरहेको अध्यक्ष थारु बताउनुहुन्छ ।

अहिले कारोना संक्रमण रोकथामका लागि पनि निकै सजकताका साथ काम गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुँडाली बताउनुहुन्छ । आवश्यक पिपिई, सर्जिकल मास्क, ग्लोब्स, साबुन, स्यानीटाइजर, बुट, जुत्ता लगायतका सामग्री स्वास्थ्यकर्मीहरूलाई पर्याप्त मात्रामा उपलब्ध गराउनुका साथै जनतालाई कोरोना भाइरस, यसका कारणले हुने कोभिड–१९ रोग, लक्षण, बच्ने उपायलगायतका विषयमा जानकारी दिइरहेको पनि चुँडाली बताउनुहुन्छ । ठाउँठाउँमा हेल्थ डेस्क राखिएको छ भने क्वारेन्टाइन पनि बनाइएका छन् । कोरोनाका कारण नियमित खोप सेवा प्रभावित भएका कारण भविष्यमा अन्य रोगको संक्रमण हुन सक्ने आशंका भने जन्मिएको छ । चुँडाली पनि यो कुरालाई स्वीकार्दै अहिले रोकिएको खोपका कारण भविष्यमा अन्य संकट आइलाग्ने हो कि भन्ने चिन्ता थपिएको बताउनुहुन्छ । मापदण्ड अनुसारका भौतिक संरचना हुन नसक्नु, समयमै औषधि नआउँदा कहिलेकाहीं औषधिको समस्या पर्नु, स्थानीयले काउन्सिलिङ भन्दा पनि औषधि नै खान हतार गर्नुलगायतका समस्या भए पनि नबुझ्ने खालको बस्ती निकै कम भएका कारण स्वास्थ्य सेवाप्रवाहमा खासै समस्या नरहेको बताइन्छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५चिलहरियाकी मनिषा जैसी पनि स्वास्थ्य सेवा प्रभावकारी नै रहेको बताउनुहुन्छ ।‘स्वास्थ्य संस्थाहरूबाट दिइने स्वास्थ्य सेवा राम्रो छ, गाउँपालिका, वडाले रामै्र गरिरहेका छन्,’ जैसी भन्नुहुन्छ । वडा नम्बर ९ ढकेरीका सामाजिक अगुवा श्रीधर उपाध्याय पनि गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको आफूले अनुभव गरेको सुनाउनु हुन्छ । ‘जनता पनि आफ्नो स्वास्थ्यप्रति सजग छन्, गाउँपालिकाले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कञ्जुस्याइँ गरेको छैन,’उपाध्याय भन्नुहुन्छ । ढकेरीमै रहेको बर्थिङ सेन्टरमा ८० प्रतिशत गर्भवतीले डेलिभरी गराउने गरेको उपाध्याय बताउनुहुन्छ । स्वास्थ्य शाखा प्रमुख चुँडाली हाम्रो जस्तो विकासोन्मुख समाजमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो जस्तो समाजमा चिकित्सकीय सेवा निकै महँगो हुने भएकाले प्रिभेन्टिभमा जोड दिएर यसको दायरा बढाउनुपर्छ ।’ साभारः समृद्ध राप्ती सोनारी

Womui
Womui