दुःख र पीडाले सिकायो जनतासँग भिज्ने कला

206

मानव जीवन जब दुःख र पीडाले घेर्छ तब मानिस विचलित बन्छ, स्वार्थमा लिप्त हुन्छ । त्यतिबेला उसले के गर्ने के नगर्ने सबै कुरा बिर्सिन्छ । यस्तो अवस्थामा मानिसले के सही के गलत छुट्याउने निर्णय नै लिन सक्दैन । यही दुःख र पीडामा लिएको निर्णयले नै मानिसको जीवन सफल बनाउँछ । उसको आगामी दिनको भविष्य सुनिश्चित गर्छ ।

प्रसङ्ग राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको । दैवको लीला लाहुरामले सानै उमेरमा बुबाको स्नेहिल छत्रछाया गुमाउनु पर्‍यो । बाबुलाई सम्झेर आमा माइती जब भक्कानिएर रुन्थिन् तब आमालाई सम्झाउनु पर्दाको पीडा उनीसँग ताजै छ । बाबुको यादमा पलपल छट्पटाउने लाहुरामलाई कम्ति दुःख भोग्नु परेन होला, जुन उनलाई मात्र थाहा छ । त्यसमाथि सानै उमेरमा बाबुको साथ गुमाएका लाहुरामलाई जहिले पनि एकै कुराले मन खाने गथ्‍‍र्यो र अहिले पनि त्यहीँ कुराले पिरोल्ने गर्छ, मेरो बुबा भइदिएको भए धेरै पढ्थे । मेरा सबै काममा बुबाले सहयोग गर्नु हुन्थ्यो । मेरा कमिकमजोरी औंल्याएर सल्लाह सुझाव दिनु हुन्थ्यो ।’ उनलाई बाबुको अभाव त्यतिबेला खड्कियो जब उनी आफ्नो विवाहका लागि चाहिने १२ मिटर बढुवा १ मिटर नपुगेर विवाह भन्दा केही क्षण अगाडि नेपालगन्जबाट पैदल हिँडेर ल्याउनु परेको थियो । बाबुको मृत्युपश्चात् उनले काका बुबा सुकलालको साहारा नपाएका भने होइनन् । तर आफ्नै बाबु भइदिएको भए यस्तो गर्थे उस्तो गर्थे भन्ने अभिलाषाबाट भने उनी मुक्त हुन सकेका छैनन् । सानोमा तीक्ष्ण बुद्धिका भए पनि बाबुको साहारा टुटेपछि उनको पढ्ने धोको पूरा हुन सकेन ।

साबिकको बैजापुर गाविस वडा नम्बर ६ खैरेनी र हालको वडा नम्बर ३ स्थित पुख्‍‌र्यौली घरमा विक्रम संवत् २०२४ सालमा जन्मिएका लाहुरामको केही समय संयुक्त परिवारमा बित्यो । तीन बाजेका तीन छोराका सन्तान मिलाएर उनको ५२ जनाको ठूलो परिवार थियो । त्यतिबेला सबैले काममा सहयोग गर्ने भएकाले घरको जिम्मेवारी उनीमाथि त्यति परेन । तर जब अंश बन्डा भयो तब समयले उनलाई सानै उमेरमा बयस्क बनायो । उनको पुख्‍‌र्यौली सम्पत्ति तीन भागमा बाँडियो । तीन भागमा जग्गा जमिन बाडिँदा खान लाउन पनि उनको घरलाई हम्मेहम्मे परेको तीतो अनुभव उनीसँग छ । खेती किसानी गर्दै आएको पुख्‍‌र्यौली पेसालाई निरन्तरता दिँदै उनको परिवारलाई आफ्नो जग्गाबाट भएको उब्जनीले खानलाउन नपुग्ने भएपछि अधियामा खेतीकिसान गर्न थाल्यो । उहिले गरिने परम्परागत खेतीपातीका कारण धेरैजसो समय खाली बस्नु परेकाले उनले घरखर्च चलाउनका लागि मजदुरी पेसा अपनाए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाटो बनाउने मजदुरी काममा केही समय बिताएका उनले त्यहाँ काम गर्दाको अवधिमा सक्रिय र इमानदार भए सबैको प्यारो बन्न सकिने शिक्षा प्राप्त गरे । त्यतिबेला पारिश्रमिकको विषयमा आफूभन्दा ठूलाले आन्दोलन गरौं, आज काममा नजाऊ भनेर सबैलाई भड्काएर बीच बाटोबाटै घर फर्किंदा काम नगरे घरमा सबै भोकै हुन्छन् भन्दै उनी र उनका एक मिल्ने साथी काममा जान्थे । जसले गर्दा मस्तोलका हाकिमको उनी र उनका साथी प्यारो र विश्वास पात्र बन्न पुगे ।
‘के खोज्छ कानो आँखो’ भनेझै सानै उमेरमा बाबुको स्नेह नपाएका उनले हाकिमको स्नेह पाउँदा परिस्थितिवश भनौं वा उनको सक्रियता र इमानदारिताले जीवनको बहुमूल्य शिक्षा प्राप्त गर्ने अवसर लाहुरामले पाए । उनको अभिलाषाले उनको मनमस्तिष्कमा जरो गाडेको सक्रियता र इमानदारिताले उनलाई नयाँ दिशातर्फ डोर्‍यायो । पूर्वपश्चिम राजमार्गको काम सकिएपछि उनी मान्छेसँग घुलमिल हुन थाले । त्यही क्रममा उनलाई जगडेको सक्रियता र इमानदारिताले सामाजिक क्षेत्रमा प्रवेश गर्ने अवसर जुरायो । त्यतिबेला जिम्मेवारीले थलिएका लाहुरामले किताबी पढाइ गर्न नपाए पनि व्यवहारिक शिक्षालाई अध्ययन गर्ने र बुझ्ने अवसर पाए । सामाजिक क्षेत्रमा काम गर्ने क्रममा मानिसको व्यवहार, देश र विदेशबारे पढे ।

राजनीतिक यात्रा

उमेर बढ्दै जाँदा व्यक्तिपिच्छे इच्छा/आकाङ्क्षा फरकफरक हुन्छन् । समय र परिस्थितिसँगै भविष्यका सपना जसले पनि बुन्न थाल्छ । इच्छा र आकाङ्क्षाको ठीक विपरीत लाहुरामको राजनीतिक यात्रा भने अनौठो छ । उनको राजनीतिकर्मी बन्ने इच्छा भने होइन । घरव्यवहार र जिम्मेवारीले थलिएका उनी डकर्मी बन्न चाहन्थे । उतिबेला डकर्मीले राम्रो पारिश्रमिक पाउने भएकाले पनि उनको इच्छा एक कुशल डकर्मी बन्नु थियो । डकर्मी बन्न नसके व्यापारी वा व्यवसायी बन्न चाहन्थे उनी । तर उनको मनमस्तिष्कमा जडा गाडेको सक्रियता र इमानदारिताले उनको इच्छा आकाङ्क्षा नै परिवर्तन गरिदियो ।
जसरी पवित्र धर्म गन्थ गीतामा भनिएको छः
कर्माण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा तेसङ्गोक्स्त्वकर्मणि ।।

अर्थात् कर्म गर्ने वा नगर्ने कुरा मात्र तिम्रो अधीनमा वा अधिकारमा छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । तिम्रो अधिकार कर्ममा छ, फलमा होइन । तसर्थ कर्तव्य ठानेर कर्म गर तर फलको आशा नगर । कर्म योग भनेकै परिणाम के आउँछ भन्ने कुराको फिक्री नराखेर आफूले गर्नु पर्ने कर्म प्रेमपूर्वक गर्नु हो ।

२०४६ सालमा देशमा बहुदल आयो । बहुदल आइसकेपछि तत्कालीन नेपाली कांग्रेसका सभापति युवराज शर्मा गाउँगाउँमा कमिटी गठन गर्दै हिँड्न थाले । सोही क्रममा साबिकको बैजापुर गाविसमा सभापति शर्मा पुगे । त्यतिबेला शर्मा चिनेको मान्छेलाई इकाई सभापति बनाउने सोचले त्यहाँ पुगेका थिए । देशमा भर्खरै बहुदल घोषणा भएको बेलामा जसलाई सभापति बनाउने भनेर शर्मा त्यहाँ पुगेका थिए उनी डरले भागेपछि कसलाई सभापति बनाउने भन्ने चर्चा चल्न थाल्यो । पार्टीले खोजे झै सक्रिय र इमानदार मान्छे लाहुराम भएको थाहा पाएपछि नेपाली कांग्रेसका नेता शालिकराम डाँगी लाहुरामलाई घरबाट बोलाएर कमिटीको भेलामा लगेर गए । त्यहाँ पुगेका लाहुरामलाई सभापति बन्ने अफर आएपछि अक्क न बक्क बनेको अनुभव उनीसँग स्मरण योग्य छ । केही बोल्न नपाउँदै शर्मा र डाँगीले फूलमाला लगाइदिएपछि उनको नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु भयो ।

अरूको अगाडि बोल्दा थरथर काप्ने लाहुरामले इकाई सभापति भएको दोस्रो दिन रेडियो नेपालबाट जब आफ्नो नाम सुने अनि उनमा आत्मविश्वास पलायो । रेडियोबाट नाम आएपछि आफूलाई ठूलो मान्छे भएको अनुभूति भएपछि उनमा विस्तारै राजनीतिप्रति चासो बढ्न थाल्यो । त्यसपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । मजदुरीमै दिन बिताउने लाहुको दिनचर्या राजनीतिमा प्रवेश गरिसकेपछि विभिन्न समूहमा सहभागिता जनाउन थाले । संघसंस्थामा काम गर्न थाले र सभा कार्यक्रममा सहभागिता जनाउँदै राजनीतिक र व्यवहारिक ज्ञान आर्जन गर्न थाले ।

२०४६ सालमा इकाई सभापति भएर प्रवेश गरेको राजनीतिक यात्रामा निरन्तर २४ वर्ष उनले सभापतिकै पदको जिम्मेवारी बखुबी निभाए । २४ वर्षको अन्तरालमा उपाध्यक्ष, सचिव, सदस्य सबै फेरिए तर उनको ठाउँ लिन सक्ने अर्को कुनै आएन । जहिले पनि उनी सर्वसम्मतले अध्यक्ष पदमै रहे । त्यसपछि जिल्लामा मनोनित सदस्य भएर दुई कार्यकाल बिताए भने एक वर्ष जिल्लाको कार्यवाहक सभापति भए ।

राजनीतिमा आएपछि लाहुरामलाई कहिल्यै पनि पदको लोभ लागेन । जुन पद भए पनि पार्टी वा कार्यकर्ताले दिने हो भन्ने सोच्ने उनले भने तत्कालीन जिल्ला विकास समितिको अध्यक्ष वा सदस्यसम्म बन्ने लक्ष्य लिएका थिए । तर, देश संघीय संरचनामा गइसकेपछि भने उनको त्यो इच्छा आकाङ्क्षा पूरा हुन सकेन ।
माथि उल्लेख गरिएको गीताको श्लोक झै, राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष बन्ने सपनामा पनि सोचेका थिएनन् लाहुरामले । उनको सक्रियता र इमानदारिताले गर्दा उनलाई गाउँपालिका अध्यक्षमा लड्न कार्यकर्ताले नै हौस्याए । कार्यकर्ताले साथ दिए पनि पार्टीले म जस्तो थारुको बच्चालाई के टिकट देला भन्ने विश्वासनै नगरेका लाहुरामले अध्यक्षको टिकट पाउँदा केही दिन विश्वासनै गर्न सकेनन् । र, संघीय संरचनाको पहिलो निर्वाचनमा १६००० मत ल्याएर राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भए ।

हरेक सुख, दुःखमा साथ र हौसला दिने आमा, राजनीतिक यात्राको सुरुवात गराउने शालिकराम डाँगी, युवराज शर्मा, प्रेमलाल श्रेष्ठ, डिल्ली चौधरीलगायतका व्यक्तिलाई आफ्नो प्रेरणादायी व्यक्तित्व मान्ने लाहुरामलाई अन्ततः सक्रियता र इमानदारिताको संगमले मानिसलाई सफलता दिलाउने रहेछ भन्ने बोध भएको छ । पहिले एउटा साधारण मजदुरी गरेर घर खर्च चलाइरहेका लाहुराम पार्टीगत कुरामा होस् चाहे आर्थिक पाटोमा या नैतिक पाटोमा सक्रिय र इमानदार भएर निर्णय गरे तत्काललाई त्यो तीतो भए पनि त्यसको परिणाम मिठो हुने ज्वलन्त उदाहरण हुन् । साभारः समृद्ध राप्तीसोनारी बुलेटिन

Womui
Womui