‘उच्च मनोबल, सतर्कता र सकारात्मक सोच नै कोरोनाको उपचार’

अहिले विश्वनै कोरोनाको महामारीका कारण आर्थिक मन्दीबाट गुज्रिरहेको छ । त्यस माथि विशेष गरी हाम्रो देश विकसित देशबाट प्राप्त हुने अनुदान र ऋण माथि भर पर्दै आएको कुरा सर्वविदितै छ । त्यसकारण मेरो व्यक्तिगत विचारमा आफ्नो स्वास्थ्यमा कोरोनासँग सम्बन्धित कुनै पनि किसिमको गम्भीर लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्दा नै उचित होला । हामी सबैले कोरोना परीक्षण गर्ने हो भने नेपालको लगभग ९०% जनसंख्यामा यो संक्रमण देखिन सक्छ । त्यो भनेको पीसीआर परीक्षण र आइसोलेसनमा आर्थिक व्यय बढ्नु हो । लक्षण नदेखिएकामा समेत धमाधम कोरोना परीक्षण गरिँदा अहिले राज्यले आइसोलेसनको निम्ति भवन व्यवस्थापन गर्न कठिनाइ बेहोर्नुको साथै आर्थिक रूपमा पनि सक्षम नहुँदा जनताले स्वयम् खर्च गर्ने गरी “सेल्फ पे” को अवधारणा लिएर आएको छ । सरसर्ती हेर्दा यो व्यवस्था हुनेखाने परिवारको निम्ति सहज देखिएता पनि निम्न वर्गको निम्ति सरकारले गरेको व्यवस्थामा जेनेरेटरसम्म पनि नभएको कुरा प्रत्यक्ष भोग्नेहरुको गुनासो छ । अब अहिले राज्यले खर्च धान्न नसक्ने अवस्था आइसकेपछि हाम्रो देश आफैंमा पनि आर्थिक रूपमा त्यति बलियो छैन । त्यसमाथि पनि विश्वनै आर्थिक मन्दीको चपेटामा परेको बेला हामीले यो कुराको संवेदनशीलता बुझिदिएनौं भने आउने भविष्यमा यसबाट पर्ने आर्थिक भारको जिम्मेवारी हामीले नै बोक्नु पर्ने हुन्छ । त्यसकारण कोरोनाबाट उन्मुक्ति पाउन परीक्षण गराएर १४ दिन आइसोलेसन सेन्टरमा बस्नु उपाय होइन । किनभने आइसोलेसनमा बसिसकेपश्चात् कसैले पनि दोस्रोपटक कोरोना संक्रमित नहुने ग्यारेन्टी पत्र पाउँदैन ।

हामीले बुझ्नु पर्ने मुख्य कुरा के हो भने अब हामीले कोरोनासँगै बाच्नु पर्ने भएको हुँदा हामीले आफ्नो खानपान र जीवन शैलीमा परिवर्तन गर्नु आवश्यक छ ।
र अर्को महत्वपूर्ण कुरा शारीरिक रूपमा हामीमा कोरोनाको असर देखियो भने हामी निको हुने धेरै सम्भावनाहरु छन् । तर मानसिकरूप मै ग्रसित भयौं भने त्यसको उपचार फेरि सम्भव छैन । त्यसकारण कोरोना हुनु भन्दा अगाडि अथवा भइसकेपश्चात् यसबाट उन्मुक्ति पाउने एउटै उपाय हो, जीवनशैलीमा परिवर्तनको साथै उच्च मनोबल र सकारात्मक सोच ।


अहिले देशमा तीन तहका सरकारको उपस्थिति छ । तर कोरोनासँग आफ्नो जनतालाई कसरी सुरक्षित राख्ने भन्ने कुनै किसिमको योजना छैन । संक्रमण भइसकेपछिका उपायहरुमा उनीहरुको खानपानदेखि उपचारको उचित व्यवस्थापनमा सक्षम पनि देखिँदैन सरकार । सँगसँगै कोरोना रोकथामको निम्ति भनेर बाध्यात्मक अवस्थामा गरिएको निषेधाज्ञा, लकडाउनले कारोबार ठप्प हुँदा दिनानुदिन आर्थिक मन्दीको भुमरीमा हामी फसिरहेका छौं । यस्तो अवस्थामा प्रदेशबाट यातना भोगेर आफ्नै देशमा दुःख सुख गरी पेट पाल्न आएकाहरुको निम्ति पनि कुनै ठोस योजना छैन हामीसँग । निरन्तर रूपमा लकडाउन गर्दा एकातिर आर्थिक मन्दी हुने पक्का छ भने अर्काेतिर काम नहुँदा मानिसको मनोविज्ञानमा समेत नकारात्मक असरहरु पर्दै गइरहेका छन् । यो दुवै अफ्ठ्यारोबाट बच्न अब सरकारले छिटो भन्दा छिटो सुरक्षाका मापदण्डहरु अपनाउँदै आफ्नो देशको प्राकृति सम्पत्ति हाइड्रो, कृषि र पर्यटनमा काम गर्ने वातावरण बनाउन अनिवार्य छ । जसले गर्दा आर्थिक गतिविधि पनि बढ्ने र व्यस्तताका कारण मनिसमा कोरोनाको विषयलाई नकारात्मक असर पनि कम हुने सम्भावना रहन्छ ।

लेखक बीपी अध्ययन प्रतिष्ठान नेपाल, बाँकेका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here