बाँकेमा एकै दिन थपिए ४८ संक्रमित

64

नेपालगन्ज–बाँकेमा आइतबार एकैदिन ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा पीसीआर स्वाब परीक्षण गर्दा ३७ जना पुरुष र ११ जना महिलामा कोरोना संंक्रमण पुष्टि भएको हो ।

कुल ४८ संक्रमित मध्ये वडा प्रहरी कार्यालय नेपालगन्जबाट संकलन गरिएको नमुना मध्येबाट ४३ जना ब्यक्तिमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । उनीहरु अधिकांश वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको बुझिएको छ । संक्रमित फेला परेपछि केही दिनदेखि वडा प्रहरी कार्यालयलाई सिल गरिएको थियो ।

यस्तै अन्य ३ जना नेपालगन्ज र २ जना कोहलपुर निवासी संक्रमित रहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । पछिल्लो तथ्यांकसँगै बाँकेमा संक्रमितको संख्या ६ सय १७ पुगेको छ । संक्रमितको संख्या बढ्दै जान थालेपछि नेपालगन्ज उपमहानगरपालिकाको केही स्थानलाई सिल गरिएको छ । नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपल चौतारा हुदै बाँके गाउँसम्म, बाँकेगाउँदेखि रिङ रोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको क्षेत्रलाई शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्मका लागि सिल गरिएको हो ।

Womui
Womui