‘बाँकेमा कोरोना नियन्त्रणमा लापरबाही’

120
फाइल तस्बिर ।

नेपालगन्ज–बाँकेमा कोरोना रोग नियन्त्रणमा लापरबाही गरेको आरोप लागेको छ । पछिल्लो समय बाँकेमा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै सुरक्षा सतर्कता अपनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नेपालगन्ज उपमहानगरपालिकाको चार किल्ला सिल गरेता पनि त्यसको खिल्ली उडाउँदै कोरोना रोग नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेलाई कोरोना रोग नियन्त्रणमा लापरबाही गरेको आरोप लागेको हो ।

गत बुधबार नेपालगन्जस्थित एक सरकारी कार्यालयबाट लिइएको स्वाबमा दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि शुक्रबार राति अबेरमा कोरोना रोग फोकल पर्सन भन्दै ९८५८०५१४१४ बाट खबर आएको कोरोना पीडितले छिनछिन खबरलाई बताए । राति ८ बजे आफूले फोन मार्फत् खबर पाए पनि शनिबार बिहान साढे २ बजेसम्म पनि लिन नआएको गुनासो पीडितले गरेका छन् । कोरोना भाइरसको संक्रमण भएको खबर पाएपछि घरपरिवार तनाव रहेको बेला आफूलाई लिन आउन बारम्बार फोन गरे पनि फोन रिसिभ नगर्दा झन् तनाव थपिएको पीडितले बताएका छन् ।

पीडितका अनुसार सुरुमा फोन गर्नेले कोरोना रिपोर्ट पोजेटिभ आएको बताउँदै आइसोलेसनमा बस्ने कि होटलमा बस्ने सोधेका थिए । होटलमा बसेको १ जनालाई प्रतिदिन ५ हजार रुपैयाँका दरले लाग्ने भए पनि दुई जनालाई २५ सय रुपैयाँका दरले लाग्ने जानकारी पाएपछि आफूले खर्च धान्न नसक्ने भन्दै आइसोलेसनमा बस्ने जानकारी पीडितले दिएका थिए । पीडितसँग सम्पर्क हुँदा आउँछु भनेकाे ६ घण्टा बितिसक्दा पनि आफूलाई लिन नआएको र त्यसपछि फाेननै रिसिभ नगरेकाे गुनासो गरेका छन् ।

यसबारे बुझ्न जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठलाई सम्पर्क गर्दा फोन उठेन ।

बाँकेमा पैसा हुने तथा हाइप्रोफइल संक्रमितका लागि एसीसहितको होटलमा बस्ने व्यवस्था मिलाइएको छ । सुरक्षाकर्मीको निगरानीमा होटलमा बस्दा खाने बस्ने पैसा स्वयम् संक्रमितले तिर्नु पर्छ । नेपालगन्जको सिटी प्यालेसमा उक्त व्यवस्था मिलाइएको हो ।

Womui
Womui