भ्रामक समाचारप्रति नरैनापुर गाउँपालिकाको आपत्ति

64

बाँके(नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकाले केही संचार माध्यम र सामाजिक संजालमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको ब्यक्तिगत आचारणमा गम्भीर आघात पुग्ने गरी एकतर्फी रुपमा भ्रामक समाचार सम्प्रेषण भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र फेसबुक वालहरुमा गाउँपालिकाका कर्मचारीहरुको हवाला दिई केही दिनदेखि आइरहेको भ्रामक तथा तथ्यहीन समाचार र सूचनाको हकको नाममा अनावश्यक र औचित्यहीन सूचना मागका सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

विपद् र विगतमा पालिकाले गरेका उल्लेखनीय कार्यहरुका सन्दर्भमा कहीँ कतै उल्लेख र सहयोग नगर्ने, वेमौसममा भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण गर्ने, अन्य ब्यक्ति तथा संस्थाको गोपनियताको समेत ख्यालै नगरी सामाजिक संजालको दुरुपयोग आफैंमा दण्डनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिका अध्यक्ष शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ-“यथार्थता बुझेर विश्वासनीय ढंगले प्रकाशन तथा प्रशारण गरिदिँदा राज्यको चौथो अंगको पनि सम्मान हुने र हामीलाई पनि कार्यसम्पादनमा सहयोग हुने हुनाले पत्रकारिताको मर्म अनुसार सत्यतथ्य र यथार्थ बुझी समाचार सम्प्रेषण गरिदिनुहुन अनुरोध गर्दछु ।” विज्ञप्तिमा बैयक्तिक स्वतन्त्रताको नाममा सामाजिक संजालको प्रयोग गर्दा अरु ब्यक्तिको बैयक्तिक स्वतन्त्रता र मानव अधिकारको समेत ख्याल गर्नुपर्नेमा सोको ख्यालै नगरी ब्यक्ति तथा संस्थालाई तर्साउने, धम्क्याउने, पहिले नै भ्रामक समाचार सम्प्रेषण गरी पछि सूचनाको हकको नाममा दुरुपयोग गर्ने गरी कुनै पनि कार्य नगर्न र सूचना चाहिएमा प्रयोजन खुलाई स्वयं कार्यालयमा उपस्थित भई माग गर्न विज्ञप्तिमा भनिएको छ । स्थानीय सरकारको रुपमा रहेको संस्था एवं कर्मचारीहरुलाई अनावश्यक र आधारहिन आरोप लगाई भ्रम सिर्जना गर्ने र सामाजिक संजालको दुरुपयोग गर्ने कार्य गर्दा सामाजिक सद्भावमा समेत खलल पुग्न जाने भन्दै त्यस्तो कार्य नगरी सहयोग गर्न अनुरोध गरिएको छ । कुनै समय मुलुकमै सबैभन्दा बढी कोरोना प्रभावित नरैनापुरलाई हालको अवस्थामा कोरोना मुक्त गराउन सफल भई राहतको महसुस भएको अवस्थामा कोरोना कहर र विकासका कार्यमा अहोरात्र खटिएको अवस्थामा जनप्रतिनिधि र कर्मचारीको ब्यक्तिगत आचारणमा आघात पुग्ने काम नगर्न भनिएको छ ।

Womui
Womui