निषेधाज्ञाको पूर्ण पालना भएन

128
तस्बिर :– धम्बोजी चोक क्षेत्रमा हिडिरहेका पैदल यात्री, गुडिरहेका साइकल र मोटरसाइकल ।

नेपालगन्ज-कोरोनाको माहामारीलाई नियन्त्रण गर्न बाँकेमा लागू गरिएको दोस्रो निषेधाज्ञा पूर्ण रुपमा पालना नभएको पाइएको छ । आज(आइतबार) देखि ३ दिनको लागि लागू गरिएको निषेधाज्ञाको आज पहिलो दिनै प्रभावकारी देखिएको छैन ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधाज्ञालाई पूर्णता दिन नेपालगन्जका विभिन्न स्थानमा नेपाल प्रहरी तथा नेपाल सैनिकको उपस्थिति भएता पनि सडकमा मानिसहरुको चहलपहल भने देख्न सकिन्छ । कतिपय स्थानमा सुरक्षाकर्मी खटिएका भएता पनि कुनै चेकजाँच नगरेको पनि पाइएको छ ।
विशेषगरी सडकमा देखिएका पैदल यात्री, साइकल यात्री र मोटरसाइकल यात्रीको चहलपहलले निषेधाज्ञा यात्रुवाहक सवारीसाधन र पसलहरुका लागि मात्र हो की भन्ने देखिन्छ । एकलैनी, घरबारी टोल, त्रिभुवन चोक, चारबाहिनी रोड तथा धम्बोजीका आसपासका क्षेत्रमा मानिसहरुको चाप देख्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना अनुसार स्वास्थ्य, ग्यास, औषधि, पेट्रोलियम तथा खाद्यान्न तरकारीका पसलहरु खुल्न पाउने भएता पनि यस बाहेकका पसलहरु पनि खुलेको देख्न सकिन्छ । जिल्ला प्रशासन बाँके अगाडि नै फलफूल बिक्री गर्ने ठेलादेखि विभिन्न स्थानमा खुलेका कपडा पसल, भाडाकुडा पसल किराना पसललगायतले निषेधाज्ञाको पूर्ण रुपमा उल्लंघन गरेको पाइन्छ ।
सवारीसाधनको मामलामा एम्बुलेन्स, सववाहक, दमकल, झण्डावाला सवारी, निलो प्लेट, लामो दूरीका मालवाहक, अत्यावसेक काममा खटिएका र अनुमती प्राप्त सवारीसाधनमात्र सडकमा चल्न अनुमती छ । तर सडकमा रातो नम्बर प्लेटक मोटरसाइकल, स्कुटरदेखि रातो प्लेटका कार जीप तथा ट्रयाक्टर पनि गुडेको पाइएको छ ।
जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि यसको पूर्ण प्रभावकारी भने नेपालगन्जमा देखिएको छैन । यो दोस्रो पटकको निषेधाज्ञा प्रभावकारी नहुनु सरकारी प्रशासन र जनता दुबै पक्षको कमजोरी हो । यदि निषेधाज्ञालाई प्रभावकारी बनाउनु छ भने दुवै पक्ष सबल भएर लाग्नु पर्छ । नत्र निषेधाज्ञा लगाउनुको कुनै अर्थ हुँदैन ।

Womui
Womui