सामाजिक दूरी कायम गरी रक्षाबन्धन र बकरईद मनाउन बाँके प्रशासनको आग्रह

291

नेपालगन्ज– बाँकेमा आइतबार (भोलि)देखि तीन दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ । तीन दिनका लागि निषेधाज्ञा लगाइए पनि मुस्लिम समुदायको पर्व बकरईद  र हिन्दू धर्मावलम्बीको रक्षा बन्धनमा भने केही छुट दिएको छ । साउन १७ गते पर्ने बकरईद र साउन १९ गते पर्ने रक्षाबन्धन पर्वमा भने निजी सवारी साधन र सोसम्बन्धी व्यवसाय संचालन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले छुट दिएको छ । दुई पर्वलाई मध्यनजर गर्दै प्रशासनले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउँदा भीडभाड नगर्न अनुरोध गरेको छ । अन्य समयमा भने अत्यावश्यक सेवा स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न तरकारी आपूर्ति जस्ता सेवा संचालन गर्न पाइने जनाएको छ । त्यस्तै एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सवारी र नीलो (कुटनीतिक) प्लेटका सवारी साधन, लामो दूरीका मालवाहक साधन, अत्यावश्क सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन, सवारी अनुमति प्राप्त सवारी साधनबाहेक अन्य साधन संचालनमा रोक लगाएको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम बढेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालीन बैठकले आइतबारदेखि तीन दिनसम्मका लागि पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
लकडाउन खोलेसँगै नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारदेखि निषेधाज्ञा लगाइएको हो ।

Womui
Womui