घर भाडाका लागि करकाप नगर्न सर्वोच्चको आदेश

63

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणमा लागू लकडाउनको अवधिको भाडाको नाममा करकाप नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । लकडाउन अवधिको घरभाडा छुट दिनुपर्ने माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्तकाल घर भाडा नउठाउन बिहीबार आदेश दिएको हो। आदेशबमोजिम तत्काल घरभाडा तिर्न नसक्ने व्यक्तिले विस्तारै कमाएर तिर्न सक्नेछन्, यस्तोमा घरधनीले भाडामा बस्नेहरुलाई भाडाका लागि दुःख दिन पाउने छैनन् ।

नाईहरुको संस्था ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमाथि न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गरेको हो। सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि २०७७ असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो। नाई संघका तर्फबाट सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दै असार २१ गते सार्वजनिक सरोकारको रिट दायर भएको थियो ।

Womui
Womui