सामुदायिक वनद्वारा ७२ बाख्रा वितरण

183

बाँके(राप्तीसोनारी)– बाँकेको राप्तीसोनारीस्थित एक सामुदायिक वनले ७२ वटा उन्नत जातका बाख्रा वितरण गरेको छ । राप्तीसोनारी वडा नम्बर २ कचनापुर बाँकेको जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले उक्त उन्नत जातका बाख्रा वितरण गरेको हो ।

समूहमा आवद्ध ८ घरपरिवारलाई ९ वटा बाख्राको दरले वितरण गरिएको छ । प्रति घर परिवारलाई करिब ३६ हजार रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीका अनुसार समूहमा आबद्ध विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व मन्त्री प्रेमबहादुर भण्डारीले समूहबाट प्राप्त बाख्रालाई गुणनका दरले बढाउँदै लैजानु पर्नेमा जोड दिएका थिए । समूहले विपन्न वर्गका लागि गरेको काम सह्रानीय भएको बताउँदै समूहले गरेको सहयोगलाई व्यर्थमा जान नदिन बाख्रा प्राप्त गर्नेलाई सुझाव दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि रहेका राप्तीसोनारी वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओलीले समूहले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा विपन्न वर्ग लक्षित काममा समूहको सक्रियता अझै बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा अतिथि रहेका शमशेरगन्ज सव डिभिजन वन कार्यालयका प्रमुख राजबहादुर चौधरीले सामुदायिक वनले हरियो वन नेपालको धन भन्ने उखानलाई जीवन्त राख्न गरेको प्रयास उदाहरणीय भएको बताउँदै समूहमा आबद्ध उपभोक्तालाई यसरीनै प्रोत्साहन गर्न जरुरी रहेको बताएका थिए ।

Womui
Womui