फुटबल संघले दियो खेलाडीलाई राहत

77
खेलाडीलाई चेक हस्तान्त्रण गर्दै उपमेयर उमा थापा मगर, ओलम्पियन सुरेन्द्र हमाल । तस्विरः जी. थापा , मिडिया सेन्टर


नेपालगन्ज– बाँके जिल्ला फुटबल संघले कोरोनाबाट प्रभावित भएका खेलाडीलाई एक कार्यक्रमका बिच राहत वितरण गरेको छ । संघले शनिबार  अखिल नेपाल फुटबल संघको सहयोगमा ४३ जना खेलाडीलाई जनही १ हजार ७ सय ४५ रुपैया प्रदान गरेको हो ।
नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट टेक्निकल सेन्टरमा ५ नम्बर प्रदेश सासद एवम ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, बाँके जिल्ला फुटब संघ अध्यक्ष भोजराज शाही, नेपालगन्ज उपमहानगपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, एन्फा पुर्व उपाध्यक्ष गोर्वद्धन सिह सम्झना लगायतले खेलाडीलाई चेक हस्तान्त्रण गरेका थिए ।
संकट समयमा एन्फाले आफना खेलाडीलाई गरेको सहयोग उदाहरणीय भएको ओलम्पियन हमालले बताए । उनले भने, ‘कोरोनाले सबै क्षेत्रलाई प्रभावित गरेको छ । यस्तो बेला संघले राम्रो काम गरेको छ । फुटबल खेल संसारमै लोकप्रिय खेल हो । यसले आफना खेलाडीका बारेमा सोचेर सहयोग गरेको छ । फुटबल जस्तै अन्य संघले यस्ता कार्यक्रम गर्न जरुरी छ । कोरोना प्रभावित खेलाडीको बारेमा राष्ट्रिय खेलकुद परिषदलाई केहि योजना बनाउन म आग्रह गर्दछु ।’
उपमेयर थापाले नगरपालिकाले खेल र खेलाडीकर्मीको सम्मानका लागि कार्यक्रम सुरुआत गरेको बताइन । उनले भनिन, ‘खेलाडीले हासिल गरेको सफलता र मिहिनेतलाई हामी सम्मान गछौं । त्यसकै लागि गत वर्ष देखि हामीले वार्षिक रुपमा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रमको सुरुआत गरेका छौं ।’
कोरोना प्रभावित खेलाडीलाई सहयोग गर्नका लागि एन्फाले बाँके जिल्ला फुटबल संघलाई ७५ हजार प्रदान गरेको थियो । राहतका लागि ४६ जनाले आवेदन दिएका थिए । त्यसमा ४३ जनालाई राहत दिइएको फुटबल संघले बताएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले सहयोग रकम थोरै भएपनि खेलाडीको दैनिक सहज बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘फुटबल संघ आफनो खेलाडीको संरक्षणमा सधै अगाडी छ । आज हामीले अप्ठयारोमा परेको फुटबल खेलाडी र प्राविधिकलाई गरेका छौं । यसले दैनिक जीवनमा थोरै भएपनि सहयोग पुग्नेछ ।’

Womui
Womui