बाँकेको राप्तीसोनारीमा देखियो सलह, गाउँपालिकाद्वारा जारी सुरक्षाका उपाय अपनाउन आग्रह

65

खड्क खत्री
बाँके(राप्तीसोनारी)–बाँकेको राप्तीसोनारी गाउँपालिकाका सबै वडामा सलहको झुण्ड देखिएको छ । बिहीबार बिहान नेपालगन्जको आकाशमा पनि ठूलो संख्यामा सलह देखिएको थियो । भारतका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको सलहको झुण्ड राप्तीसोनारी गाउँपालिकाका सबै वडामा देखिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । बुधबार बाँकेको नरैनापुर गाउँपालिकामा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिकामा समेत देखिएको थियो ।
बाँकेमा सलह देखिएकोले अहिले किसान चिन्तित बनेका छन् । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले गाउँपालिकावासी चिन्तित बनेका हुन् । यता गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने किसानलाई नआत्तिन आग्रह गर्दै सलहको झुण्डलाई तितरवितर पार्न सल्लाह दिएका छन् ।
सलहबाट बच्ने उपायबारे विभिन्न माध्यमबाट किसानलाई जानकारी गराइएको अध्यक्ष थारु बताउँछन् । उनका अनुसार सलह नेपालमा प्रवेश गरेलगत्तै गाउँपालिकामा पनि प्रवेश गर्ने पूर्वानुमानसहित गाउँपालिकाको कृषि शाखा सलह कीरा नियन्त्रणमा लागि परेको बताए । गाउँपालिकाले सहल नियन्त्रणका लागि किसानलाई सलहबाट बच्न अपनाउनु पर्ने उपाय र यसबाट किसानको खेतबारी बचाउने उपायबारे जनचेतना जगाएको बताए ।
त्यस्तै सलहबाट बाली जोगाउने, झुण्डलाई तितरवितर गर्ने, विषादी छर्कने र समातेर हाँस–कुखुरालाई खुवाउने, नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर राख्ने, टनेल भित्रको बालीलाई वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर राख्ने, सलह धेरै प्रोटिनयुक्त कीरा भएकोले आएका झुण्ड लाई जालोको पासोमा संकलन गरी हाँस, कुखुरालाई खान दिने, तपाइँ बस्ने क्षेत्रमा सलह बस्ने सम्भावना देखिएमा कुनै पनि माध्यम (जस्तैः ठूलो आवाज, धुवाँ आदि) बाट बस्न नदिने, सलह झुण्डमा रहने प्रवृत्तिका फट्यांग्राको एक प्रजाति हो । यसको अपरिपक्व वयस्क गुलाबी र परिपक्व वयस्क पहे‌ँलो र‌ंगको देखिन्छ । सलहको झुण्ड आएको थाहा पाउनासाथ स्थानीय तह, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने, कुनै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचना स्थानीय तह, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने, कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भई समुदायमा सबैलाई जानकारी गराउने, सलहको झुण्ड घरभित्र समेत पसेर दुख दिन सक्ने भएकोले आउने सम्भावना भएमा झ्याल ढोका सावधानीपूर्वक बन्द गर्नेलगायतका सुझाव गाउँपालिका कृषि शाखा प्रमुख चन्द्राकुमारी शाहीले दिएकीछिन् ।

Womui
Womui