दलित सेवा संघ इकाइ तदर्थ समितिको अध्यक्षमा धनवीर

134
नवनिर्वाचित अध्यक्ष धनवीर विक ।

बाँके(राप्तीसोनारी)– राप्तीसोनारी दलित सेवा संघ इकाइ तदर्थ कार्यसमितिको अध्यक्षमा धनवीर विक चयन भएका छन् । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा दलित सेवा संघ बाँकेले आइतबार आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ विषयक अन्तर्क्रिया कार्यक्रमका अवसरमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको उपस्थितिमा गठन गरिएको कार्यसमितिमा वेलमाया विक उपाध्यक्ष, यज्ञबहादुर विक सचिव, वृजमोहन कोरी सहसचिव, सदस्यमा क्रमशः माया सुनार, प्रेम सुनार, पूर्णबहादुर बिक, सुशीला विक, जमुनी वादी, मिलन चमार, तिला परियार र विष्णु परियार चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष लाहुराम थारुले पहिलेको तुलनामा समाजमा हुने जातीय विभेद कम भए पनि कहीँकतै जातीय भेदभाव तथा छुवाछुतका घटना घट्ने क्रम नरोकिएकाले नवगठित कार्यसमिति त्यसविरुद्ध क्रियाशील भएर लाग्न जरुरी रहेको औंल्याए । जातीय भेदभाव तथा छुवाछुतविरुद्ध आफू पनि लागिपरेको बताउँदै अध्यक्ष थारुले भने,‘समाजमा हुने जातीय भेदभाव तथा छुवाछुत सम्बन्धीका घटनाविरुद्ध गाउँपालिकाको पूर्ण साथ र सहयोग छ । कहीँकतै त्यस्ता घटना घटे तपाइँहरुका पक्षमा गाउँपालिको सहयोग सदैव रहने छ ।’

दलित सेवा संघका अध्यक्ष कृष्णबहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा संबिधान सभाका पूर्व सभासद पट्टु थारु, नेपाली कांग्रेस राप्तीसोनारीका सभापति भीम राना, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ७ का रामलखन थारु, वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Womui
Womui