‘छुवाछुत अन्त्य गर्न विचार र सोच परिवर्तन गर्न आवश्यक’

184

बाँके(राप्तीसोनारी), असार २८-
जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि विचार र सोच परिवर्तन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा दलित सेवा संघ बाँकेले आइतबार आयोजना गरेको जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सम्वद्ध सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले पहिलेको तुलनामा समाजमा जातिय भेदभाव तथा छुवाछुत धेरै कम भइसकेको बताउँदै अझैपनि कतिपय ब्यक्तिको गलत विचार र सोचका कारण बाँकी रहेको धारणा राखे । ‘समाजलाई सुधार्न आफै सुध्रिन जरुरी छ, तर पहिलेको भन्दा धेरै सुधार भइसकेको छ,’ उनले भने । एकाध ब्यक्तिले गरेको जातिय भेदभाव तथा छुवाछुतलाई लिएर सिंगो समुदायमाथी दोष थुपार्न नहुने अध्यक्ष थारुको सुझाव छ । ‘पहिलेको भन्दा समाजमा धेरै सुधार भइसकेको छ, अब छिट्टै अन्त्य भएर छाड्छ,’ उनले भने ।


संघका अध्यक्ष कृष्णबहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा संबिधान सभाका पुर्व सभासद पट्टु थारु, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिम राना, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ७ का रामलखन थारु, वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओली लगायतले बोलेका थिए । सो क्रममा दलित सेवा संघका सदस्य एवम् सहजकर्ता तोजिन्द्र बिकले जातिय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ का प्रावधानबारे सहजीकरण गरेका थिए । सोही कार्यक्रममा राप्ती सोनारी दलित सेवा संघको तर्दथ समिति चयन गरिएको छ । संघको अध्यक्षमा धनबीर बि.क, सचिव यज्ञबहादुर बि.क लगायत रहेका छन् ।

Womui
Womui