अवरोधबीच सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल प्रस्ताव पारित

177

धनगढी- प्रतिपक्षी दलहरुको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभाले बजेटमाथिको छलफल प्रस्ताव पारित गरेको छ। बैठकले बजेटमाथिको छलफल प्रस्ताव बहुमतले पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए। उनका अनुसार प्रस्ताव पारित भएसँगै बैठक सकिएको छ। अर्काे बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)को अवरोधबीच सभामुख अर्जुनबहादुर थापाले बैठक सञ्चालन गरेका थिए। प्रतिपक्षी दलका सांसदहरुले बैठक सुरु हुनासाथ आ आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए। सोही क्रममा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेटमाथिको छलफल प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। सरकारले कोरोना भाइरस ९कोभिड(१९० संक्रमण नियन्त्रण तथा रोकथाममा प्रभावकारी रुपमा काम नगरेको भन्दै कांग्रेस र जसपाले विरोध जनाइरहेका छन्।

उनीहरुले तत्काल कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउन रोक्नुपर्ने, क्वारेन्टिन तथा आइसोलेसनको उचित व्यवस्थापनसँगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै बैठक अवरोध गर्दै आएका छन्। प्रतिपक्षी दलहरूको अवरोधका कारण संसदमा बजेट प्रस्तुत भएको २० दिनसम्म पनि छलफल हुन सकेको छैन।

Womui
Womui