पत्रकार खड्काको मृत्युको छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

156

धनगढी– बाजुराको बुढीनन्दा क्षेत्रबाट तीन वर्षअघि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को मृत्युबारे छानबिन गर्न र उनका परिवालाई राहत उपलब्ध गराउन माग गर्दै सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै सुदूरपश्चिम मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्लाको प्रशासनलाई निर्देशन दिने बताए।

‘हामीले पत्रकार खड्का बेपत्ता हुनेबित्तिकै खोजी जारी राखेका थियौं, अहिले कंकाल भेटिएको छ, जुन खड्काको नै रहेको पुष्टि भएको छ,’ उनले भने, ‘उनको के कति कारणले मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई छानबिन गर्न निर्देशन दिन्छु।’

मुख्यमन्त्री भट्टले पत्रकार खड्काको परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने बताए । ‘हामी आफ्नो तर्फबाट पीडित परिवारलाई राहत प्रदान गर्न पहल गर्ने छौं,’ उनले भने।

बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलबाट फर्कने क्रममा २०७५ भदौ ९ गते बेपत्ता भएका खड्काको २०७६ मंसिर २ गते कंकाल (दुई वटा करङका हड्डी)सँगै ज्याकेट, झोला, पर्स, परिचयपत्र र मोबाइल भेटिएको थियो। उक्त कंकाल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको मा परीक्षण गरिएको थियो।

प्रयोगशालाको २०७७ असार १६ गतेको रिपोर्टअनुसार पत्रकार उक्त कंकाल पत्रकार खड्काकै भएको पुष्टि भएको थियो।

बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोटिङबाट फर्कने क्रममा बरमाग्ने ठाउँबाट बेपत्ता पत्रकार खड्काको कंकाल १५ महिनापछि त्यहाँबाट करिब १७ माइल टाढा लौरी विनायक भिरमा भेटिएको थियो।

Womui
Womui