नरैनापुर गाउँपालिकामा पहिलोपटक बत्ती बल्यो

78

#अर्जुन दृष्टी
बाँके(नरैनापुर), असार १६

बाँकेको राप्तीपारी नरैनापुरमा बत्ती बलेको छ । अढाई दशकअघि पोल गाडेपनि लाइन बिस्तार हुन सकेको थिएन । नरैनापुर गाउँपालिकाको कटकुइयास्थित बिद्युत ट्रान्सफर्मरको स्वीच थिचेर मंगलबार बत्ती उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रदेश पाँचका सांसद कृष्णा केसी नमुनाले उद्घाटन गरेकी थिइन् ।
सो क्रममा बोल्दै प्रदेश सांसद केसीले नरैनापुरमा बत्ती बल्दा आफु निकै हर्षित भएको बताइन् । अब नरैनापुर विकट क्षेत्र नरहेको उनको भनाई छ । बत्ती पुगेपछि अब यस क्षेत्रमा सिचाइँ, उद्योग फस्टाउने सांसद केसीले जोड दिइन् । ‘नरैनापुरमा बत्ती बल्दा आज मलाई धेरै खुसी लागेको छ,’ उनले भनिन् । सांसद केसीले नरैनापुर क्षेत्रमा बिद्युत सेवा बिस्तारका लागि विभिन्न निकायमा पहल गर्दै आएकी थिइन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बत्ती बाल्ने बर्षौ देखीको सपना बल्ल पुरा भएको बताए । नरैनापुर गाउँपालिकामा बत्ती पुगेपछि अब शिक्षा, स्वास्थ्य, कृषि, उद्योग क्षेत्र फस्टाउने विश्वास गरे । नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा स्तरिय सेवा दिइने अध्यक्ष शाहले उद्घोष गरे । उनले नरैनापुरका गरिब तथा विपन्न परिवारको लागि बिद्युत निःशुल्क जडान गरिदिने घोषणा गरेका छन् । ‘बत्ती नहुँदा नरैनापुर धेरै कुरामा पछाडी परेको थियो, अब सबै समस्याको अन्त्य हुन्छ,’ उनले भने । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि शाहले बिद्युत बिस्तारको कामलाई पहिलो आफ्नो प्राथमिकतामा राखेका थिए । बिद्युत बिस्तारका लागि उनी कयौं पटक संघ र प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउनुका साथै डेलिगेशन गर्न गएका थिए ।

नेपाल बिद्युत प्राधिकरण प्रदेश नम्बर ५ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले नरैनापुरमा अहिले बत्ती मुख्य लाइनमा मात्र बिस्तार भएपनि छिट्टै बितरण लाइनको काम अगाडी बढाउने जानकारी दिए । उनले नरैनापुर र राप्तीसोनारीका बिद्युत नपुगेका गाउँमा एकैसाथ बिद्युत बिस्तार हुने बताए । सो क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर करुङवाङले नरैनापुर गाउँपालिका अब विकट नरहेको बताए । कोरोना भाइरसबाट मुक्त रहेको नरैनापुरमा नयाँ युगको सुरुवात भएको उनको भनाई छ ।

#नरैनापुर #बत्ती

Womui
Womui