गाउँपालिकाका न्यायिक समितिलाई प्रभावकारी बनाउन जिल्ला न्यायाधीशद्वारा निरीक्षण

31
न्यायिक समितिबारे छलफल गरिँदै ।

बाँके(डुडुवा) स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको कामकारबाही प्रक्रियालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गर्न थालेको छ । जिल्ला न्यायाधीशसहितको टोलीले मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षणपश्चात् छलफल गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा दर्ता, मिसिलको व्यवस्थापन, निर्णयलगायत विभिन्न प्रक्रियाबारेमा उपाध्यक्ष शाहिदा बानोले जानकारी गराएकी थिइन् । त्यस अवसरमा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्याल र दिलिपराज पन्तले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, मुद्दाका विषयलगायत विभिन्न अदालती प्रक्रियाबारे जानकारी दिएका थिए ।
न्यायाधीश बस्यालले न्याय धर्मको पालना गरी कुनै पनि राजनीतिक तथा लोभलालचमा नपरी निःस्वार्थ भावनाले समितिमा दर्ता भएका मुद्दालाई फच्र्योट गर्नुपर्नेमा जोड दिएका थिए । उनले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिएका थिए ।
न्यायाधीशद्वयलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको बस्तुस्थिति, कार्ययोजना र विभिन्न कामकारबाहीबारे जानकारी गराएका थिए । न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणबारे आवश्यक जानकारी गराइएको थियो । भेटघाटमा कार्यपालिका सदस्य लिलावती यादव, न्यायिक समिति सदस्य रिता परियार, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायलगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीमा अदालतका शाखा अधिकृत वीरबहादुर बोहरा र नासु विमलकुमार लामिछानेको पनि सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टरसमेत अध्ययन गरेको थियो ।

Womui
Womui