नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ४७ करोड ९६ लाख

112

नेपालगन्ज–नेपालगन्ज नेपालगन्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजीगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तीन करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिइन् ।

बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकोमा जोड दिइएको छ । कोभिड १९ को कारणले सबैभन्दा बढी होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लर लगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्यनजर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७–२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव गरिएको छ ।

यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताउनुभयो ।

अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने र लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्‍याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरिएको छ ।

Womui
Womui