२० कठ्ठा जग्गामा डुडुवाको अत्याधुनिक कार्यालय भवन निर्माण सुरु

93
भवन शिलन्यास गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी ।

बाँके (डुडुवा)–बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य सुरु भएको छ । अत्याधुनिक प्रविधिबाट निर्माण हुने सुविधा सम्पन्न भवनको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभ मुर्हुतमा विधिपूर्वक पूजापाठ गरी शिलान्यास गरेका छन् ।
भवनको शिलान्यास गर्दै अध्यक्ष चौधरीले निर्माण हुन लागेको भवनले गाउँपालिकाको कामकाजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्नमा मद्दत पुग्ने बताए । उनले जुन पनि संस्थालाई संस्थागत, दिगो र प्रभावकारी बनाउनमा पहिलो कुरा भनेको कार्यालय भवन नै भएकाले यसले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध सुधार गर्ने बताए । उनले गाउँपालिका भवन निर्माणको यो ठूलो परियोजना भएको भन्दै निर्माण कम्पनीलाई निश्चित अवधिभित्र निर्माण कार्य सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न अनुरोध गर्दै प्राविधिक तथा अनुगमन टोलीको भूमिका बढाउन अनुरोध गरेका छन् ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, गाउँपालिका ३ नं. वडाध्यक्ष भण्डारीलाल यादव, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायलगायत जनप्रतिनिधी र कर्मचारीको सहभागिता रहेको थियो ।
गाउँपालिका वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाख रुपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण हुनेछ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको ठूलो सेमिनार हल, सोनो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारीका लागि पार्किङ, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतीक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निर्माण हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
रोयल कन्सट्रक्सन धनगढीले भवन निर्माणको ठेक्का पाएको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ । भवन निर्माणका लागि ६ करोड संघीय सरकारबाट, करिब रु ३ करोड बढी जिल्ला समन्वय समिति बाँकेबाट अनुदान र बाँकी रकम गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
गाउँपालिकाले अहिले वडा नम्बर ४ स्थित भवनबाट सेवाप्रवाह गरिरहेको छ भने बनकट्टीस्थित भवनको सभाकक्षबाट गाउँसभा बस्दै आएको छ ।

Womui
Womui