कोरोना संक्रमितलाई बहिष्कार होइन, उनीहरुको आत्मविश्वास बढाऔंः वडाध्यक्ष बस्नेत

84

धनवीर बिक
बाँके (राप्तीसोनारी)– कोरोना भाइरसको संक्रमणबाट निको भएर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्षसहित ७ जना घर फर्किएका छन् । वडा नम्बर ८ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयको आइसोलनबाट बाहिरिँदा उनलाई भेट्न गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, आफन्त र वडावासीको ठूलो उपस्थिति रहेको थियो ।

घर फर्कने क्रममा वडाध्यक्ष बस्नेतले कोरोना भाइरस लागेका व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण गलत भएको बताए । उनले देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिने भन्दै नाका बन्द गर्नेदेखि लिएर कोरोना संक्रमित व्यक्तिलाई बहिष्कार गर्ने परिपाटी गलत भएको बताएका छन् । उनले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट निको हुन मुख्य कुरा आत्मविश्वास भएको बताउँदै कोरोना भाइरसका संक्रमितलाई बहिष्कार गर्ने नभएर उनीहरुसँग घुलमिल हुँदा सजगता अपनाएर उनीहरुको हौसला बढाउनु पर्नेमा जोड दिए । उनले भने,‘कोरोना भाइरसबाट निको हुन हामीमा आत्मविश्वासको खाँचो पर्दछ । त्यसैले संक्रमितको आत्मविश्वास बढाउन म सक्रिय भएर लाग्ने छु । गाउँपालिकाको विभिन्न आइसोलेसनमा बसेका संक्रमितको आत्मविश्वास बढाउन उनीहरुलाई भेटेर परामर्श गर्नेछु ।’

आत्मविश्वास र आफूले समाजबाट पाएको माया र स्नेहले गर्दा कोरोना भाइरसको संक्रमणबाट आफू मुक्त भएको बताउँदै उनले कोरोना भाइरसबाट बच्न आत्मविश्वासका साथसाथै खानपिन र सजगता अपनाउनु पर्ने बताएका छन् । स्वास्थ्यकर्मीले दिएको सल्लाह बमोजिम जीवनयापन गरे कोरोना भाइरसबाट बच्न सकिने बताउँदै वडाध्यक्ष बस्नेतले अरुसँग सम्पर्कमा आउँदा माक्सको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।

आइसोलेसनबाट घर फर्किए पनि आफू स्वास्थ्यकर्मीको सल्लाह अनुसार एक हप्ताजति घरमै होम क्वारेन्टाइनमा बस्ने वडाध्यक्ष बस्नेतले बताए । त्यसलगत्तै अहिलेको भन्दा एक कदम अघि बढेर जनताको सेवामा निरन्तर खटिने उनले बताए ।

वडाध्यक्ष बस्नेत अरुलाई बचाउने क्रममा आफैं कोरोना भाइरसको संक्रमित हुन पुगेका थिए । शिवशक्ति माविको क्वारेन्टाइनमा बसेका २८ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जसमा वडाध्यक्ष बस्नेतसमेत संक्रमित भएको रिपोर्ट आएको थियो । कोरोना भाइरसको संक्रमित भएपछि उनी जेठ १४ गतेदेखि आइसोलेसनमा बस्दै आएका थिए । वडाध्यक्ष बस्नेतले भारतबाट आएर अलपत्र परेका ५९ जनालाई जेठ ८ गते उद्धार गरेर ल्याएका थिए ।
४० वर्षीय बस्नेत भारतबाट आएर अलपत्र परेका मानिसहरुको उद्धारदेखि व्यवस्थापनमा दिनरात खटिँदै आएका कर्तव्यनिष्ठ जनप्रतिनिधि हुन् । उनी लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहत बाँड्न समेत आफैं खटिन्थे ।

Womui
Womui