राजनीतिक भागबन्डाका आधारमा स्वाब संकलन !

36
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति माबिमा स्वाब संकलन गरिँदै ।

खिमबहादुर घर्ती
बाँके (राप्तीसोनारी)–
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शिवशक्ति माविको क्वारेन्टाइनमा राजनीतिक भागवन्डाका आधारमा स्वाब संकलन गरिएको पाइएको छ । क्वारेन्टाइनमा बसेका र सम्भावित कोरोना भाइरसका संक्रमितलाई पहिलो प्राथमिकताका आधारमा पीसीआर प्रविधिबाट चेकजाँचका लागि स्वाब संकलन गरिनु पर्ने भए पनि त्यसो नभएर राजनीतिक भागबन्डाका आधारमा स्वाब संकलन भइरहेको एक जनप्रतिनिधिले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शिवशक्ति माविको मंगलबार ७० जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये कोरोना भाइरसविरुद्ध अग्रपङ्तीमा रहेका काम गर्ने वा कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएकाको स्वाब संकलन गरिनु पर्ने भएता पनि त्यसो नभएको नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले बताए । ती जनप्रतिनिधिका अनुसार संकलित ७० जनामा ५ प्रतिशत वास्तविक व्यक्तिको मात्र स्वाब संकलन भएको दुःखेसो पोखे ।
देश अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ । कतिपय ठाउँमा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन हुन सकेको छैन । स्वाब संकलनमा प्रयोग हुने भिटिएन किट अभावका कारण देशभर कैयौँको स्वाब संकलन हुन नपाउँदा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ भने राप्ती सोनारी गाउँपालिकाको केही क्वारेन्टाइनमा प्रयोग भएका भिटिएन किट व्यर्थमा गएको पाइएको हो । पहिलो लटमा स्वाब संकलन हुँदा पनि राजनीतिक प्रभावका कारण वास्तविक केही व्यक्तिको स्वाब संकलन नहुँदा विवाद पनि उत्पन्न भएको थियो । तर अहिले भने ९५ प्रतिशत स्वाब संकलन राजनीतिक भागबन्डाका आधारमा भएको एक स्थानीयले बताए ।
गाउँपालिकास्थित राजनीतिक पहुँचका व्यक्तिले भागबन्डाका आधारमा आफूखुसी आफ्ना मान्छेको स्वाब संकलनमा धाँधलि गरेको गुनासो छिनछिन खबरसँग एक स्थानीयले गरे । यसरी कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि राजनीतिक पार्टीले नै स्वच्छ भूमिका निर्वाह गर्नु पर्नेमा त्यसो नभएकोले गाउँपालिका कोरोना भाइरसको उच्च जोखिमतर्फ लम्किएको उनले गुनासो गरे । महामारीको विष्म परिस्थितिमा मानवीयतालाई बिर्सेर राजनीतिक पार्टीका व्यक्तिले नै आफन्त र नातावादका आधारमा स्वाब संकलन हुँदा स्थानीयले दुखेसो पोखेका छन् ।

Womui
Womui