तङ्ग्रिँदै बाँकेको नरैनापुर

121
नरैनापुरका कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कदै ।

नेपालगन्ज– बाँकेको नरैनापुरमा सबैभन्दा बढी कोरोना भाइरसका बिरामी देखिएपछि पूरै गाउँ शोकमा डुबेको थियो । तर पछिल्लो समय कोरोना भाइरसका संक्रमित निको भएर आएपछि भने नरैनापुर गाउँपालिका तङ्ग्रिँदै गएको छ ।
नरैनापुरका तीन युवा डिस्चार्ज भएर गाउँ फर्किएका छन् । कोरोना संक्रमणको केन्द्रबिन्दुका रुपमा देखिएको नरैनापुर गाउँपालिकाका तीन युवाले कोरोना भाइरसलाई जितेर फर्कदा गाउँभर उत्साह जागेको बताउँछन् स्थानीय जिएम यादव ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर वडा नम्बर १, २ र ५ का १८, २० र २५ वर्षे युवाहरुको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । उनीहरुको दाङस्थित बेलझुन्डी आइसुलेशन अस्पतालमा उपचार भएको थियो ।
नरैनापुर बाँकेको रेडजोनका रुपमा देखिएको छ । नरैनापुरमा मात्र एक सुरक्षाकर्मी गरेर अहिलेसम्म ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै क्वारेन्टाइनमा एक युवाको मृत्यु पनि भइसकेको छ । भारतको मुम्बइबाट फर्केर क्वारेनटाइनमा बसेका नरैनापुरका २५ वर्षे एक युवकको मृत्यु भएको थियो । क्वारेन्टाइनमै २५ वर्षे युवकको मृत्यु भएपछि नरैनापुरको जनजीवन त्रासपूर्ण अवस्थामा रहेको थियो । त्यहाँ कार्यरत कर्मचारीदेखि लिएर पूरै गाउँ त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य थिए । कोरोना भाइरसले पूरै मानववस्ती सखाप पार्ने हो कि भन्ने चिन्ताले रातमा निन्द्रा लाग्दैन्थ्यो भने दिनभर अमनचयन नहुने जिएम यादवले बताए । पछिल्लो समय तीन जनाले कोरोना भाइरसलाई जितेर आएपछि गाउँलेले केही राहत महसुस गरेको उनले बताए । उनका अनुसार समयमै उपचार गराए कोरोना भाइरसलाई जित्न सकिँदो रहेछ भनेर गाउँलेमा आशा जागेको बताए ।
जेठ ११ गतेदेखि नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दै सेना परिचालन गरिएको थियो । सेना परिचालन भइसकेपछि त्यहाँको जनजीवन व्यवस्थित हुँदै गएको गाउँपालिकाका प्रेस सल्लाहकार नवीन गिरी बताउँछन् ।
यसअघि नरैनापुरको क्वारेन्टाइनमा रहेका सबैको पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण भइसकेको छ । जसमध्ये पोजेटिभ देखिएकालाई खजुरा, कोहलपुरस्थित पिपरी र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो । नेगेटिभ देखिएकाहरु पोजेटिभ रिपोर्ट आएकाको सम्पर्कमा आएको भन्दै निश्चित अवधिका लागि पुनः क्वारेन्टाइनमा राखिएको थियो । हाल त्यहाँको क्वारेन्टाइनमा रहेकालाई आरडीटी प्रविधिबाट पुनः परीक्षण गरिँदै छ । पीसीआर हुँदै आरडीटी परीक्षणमा नेगेटिभ देखिएकालाई घर फिर्ता पठाइने जानकारी प्रेस सल्लाहकार गिरीले दिए । यसरी घर फिर्ता हुनेको संख्या धेरै हुने अनुमान गरिएको छ । जसले गर्दा गाउँपालिकालाई आर्थिकभारमा केही राहत हुने पनि आकलन गरिएको छ ।
भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि नरैनापुरमा कोरोना संक्रमणको दर उच्च देखिएको थियो । जसले गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापनमा समेत निकै चुनौती थपिएको थियो । त्यहाँको क्वारेन्टाइनमा ८ सय बढी व्यक्ति बसिसकेका छन् ।
हाल बाँकेका क्वारेन्टाइनमा ३४३३ जना, आइसोलेसनमा १६३ जना रहेका छन् । कोरोना संक्रमित १८१ जना छन् भने उपचारपछि निको हुनेको संख्या २८ पुगेको छ । त्यस्तै पीसीआर प्रविधिबाट ३३२३ जना र आरडीटी प्रविधिबाट २४३४ जनाको चेकजाँच भएको छ ।

Womui
Womui