रेडियो शिक्षाबाट लाभ लिँदै विद्यार्थी

155

बाँके(राप्तीसोनारी), जेठ १२-
हरेक दिन बिहान ८ बज्ने बित्तिकै राप्तीसोनारी–१ की धनिता केसी एफ.एम. रेडियो नजिक बस्छिन् । स्थानीय रेडियो भुवर भवानीबाट दैनिक रुपमा प्रशारण भइरहेको एस.इ.ई. विशेष ‘रेडियो शिक्षा’ उनले अचेल नछुटाएरै सुन्ने गर्छिन् । उक्त रेडियोबाट हरेक दिन बिहान ८ देखी ९ बजेसम्म एस.इ.ई. विशेष र दिउँसो ३ देखी ५ बजेसम्म कक्षा १ देखी १० सम्मको पढाई सञ्चालन भइरहेको छ ।कुसुमेश्वर माध्यामिक बिद्यालयकी छात्रा धनिता २०७६ सालको एस.इ.ई. परिक्षा दिने तयारीमा थिइन् । एस.इ.ईं. परिक्षाकै पुर्वसन्ध्यामा कोरोना भाइरस महामारीको समस्या देखाउँदै सरकारले परिक्षा नै स्थगित गरिदियो ।

परिक्षा स्थगित भएपछि घरमा त्यसै बसिरहेकी धनिता स्थानीय रेडियोबाटै ट्युसन कक्षा सञ्चालन भएपछि हर्षित भईन् । उनी अचेल रेडियो शिक्षाबाट लाभ लिइरहेकी छन् । ‘रेडियो भूवर भवानीबाट एस.इ.ई. विशेष ट्युसन कक्षा सुरु भएदेखी नियमित रुपमा रेडियो सुन्ने गरेकी छु, रेडियो शिक्षा सञ्चालन भएपछि नजानेका कुरा जान्ने मौका मिलेको छ,’ उनले भनिन् । धनिता मात्र नभएर एस.इ.ई.को तयारीमा रहेका सोही बिद्यालयका दिलिप खड्का, पुर्णिमा खड्का, सुशिला ओली, सुमित्रा कुमाल, निशा केसी लगायतले पनि अहिले रेडियो शिक्षाबाट लाभ लिइरहेको बताएका छन् ।
‘लकडाउन भएपछि घरमा त्यसै बस्दा एकदमै टेनसन भइरहेको थियो, रेडियोबाट ट्युसन सुरु भएपछि सरहरुले पढाएको कुरा ध्यान दिएर सुनेपछि धेरै कुरा सिक्न सकिदों रहेछ,’ सुशिलाले भनिन् ‘गाउँपालिकाले ट्युसन कक्षा सञ्चालन गरेपछि फाइदा नै भएको छ ।’

रेडियो सुन्दा बिर्सेका कुरा स्मरण गर्न सजिलो भएको बताईन् । यसका लागि ट्युसन कक्षालाई निरन्तरता दिनुपर्ने उनको माग छ । कोरोना भाइरस प्रभावित बिद्यार्थीका लागि राप्तीसोनारी गाउँपालिकाले गत बैशाख दोस्रो साताबाट रेडियोबाट ट्युसन कक्षा सञ्चालनमा ल्याएको हो । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार रेडियो शिक्षा कार्यक्रममा एस.इ.ई विशेष र कक्षा १ देखी १० सम्मको फरक–फरक विषयमा पठन पाठन गर्ने ब्यवस्था मिलाइएको छ । रेडियोबाट हरेक दिन बिहान ८ बजेदेखी ९ बजेसम्म एस.इ.ई. विशेष र दिउँसो ३ बजेदेखी ५ बजेसम्म कक्षा १ देखी कक्षा १० सम्मको पढाई सञ्चालन हुन्छ ।

जनशक्ति माध्यामिक बिद्यालय राप्तीसोनारी–४ बैजापुरकी पुर्णिमा ओली अचेल सधैं रेडियो ट्युसन कक्षामा सहभागी हुन्छिन् । उक्त बिद्यालयबाट कक्षा ८ उर्तीण गरिसकेकी उनी कोरोना भाइरसको महामारीका कारण कक्षा ९ मा भर्ना हुन पाएकी छैनन् । तरपनि, उनी रेडियोबाटै कक्षा ९ को पठन पाठनमा सामेल भइरहेकी छन् । ‘बुवा र मम्मीले रेडियोको ब्यवस्था गरिदिनु भएको छ, दिउँसो ३ बज्ने बित्तिकै रेडियो खोलेर पढ्छु,’ उनले भनिन् । रेडियोबाटै ट्युसन कक्षा सञ्चालन भएपछि कोरोना भाइरसबाट प्रभावित बिद्यार्थीले ठुलो राहत महसुस गरिरहेका छन् ।

रेडियो शिक्षा कार्यक्रम आफ्ना छोरा–छोरीका लागि निकै उपयोगी बनेको स्वयं अभिभावक पनि बताउँछन् । ‘हाम्रा छोरा छोरीहरु घरमा बसेपनि अहिले रेडियोको ट्युसन कक्षाबाट धेरै कुरा सिक्न पाएका छन्, कोरोना भाइरसको महामारी लम्बिने अनिश्चित छ, बिद्यालय नखुल्दासम्म गाउँपालिकाले यसरी नै पढाउने ब्यवस्था गरेपनि धेरै कुरा सिक्न पाउँछन्,’ अभिभावक भन्छन् । राप्तीसोनारी क्षेत्रमा सरकारी र संस्थागत(बोर्डिङ) गरेर करिव ७२ वटा बिद्यालय रहेका छन् । कोरोना भाइरसको महामारीका कारण सबै बिद्यालयको पठन पाठन सञ्चालन हुन सकेको छैन । रेडियो शिक्षा सञ्चालनमा आएपछि सरकारी र संस्थागत बिद्यालयका बिद्यार्थीले लाभ लिइरहेका छन् ।

रेडियो शिक्षामा पठन पाठन गर्न गाउँपालिकाको शिक्षा शाखाले राप्तीसोनारी क्षेत्रका विभिन्न बिद्यालयमा कार्यरत शिक्षकलाई खटाएको छ । शिक्षा शाखा प्रमुख जीवन न्यौपाने घरमा बसिरहेका बिद्यार्थीको ध्यान पढाईतिर केन्द्रित गराउन रेडियोमार्फत शिक्षा दिइएको बताउँछन् । ‘कोरोना भाइरस प्रभावित बिद्यार्थीको ध्यान पढाईमा केन्द्रित गराउन रेडियो शिक्षा सञ्चालन गरिएको हो,’ उनले भने । रेडियोबाट ट्युसन कक्षा सञ्चालन हुँदा बिद्यार्थीमा पढ्ने बानीको विकास भएको शिक्षकहरु बताउँछन् । नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय राप्तीसोनारी–२ अगैयाका नेपाली विषय शिक्षक केशवराज आचार्य घरमा बसिरहेका बिद्यार्थीले रेडियोबाट पनि धेरै कुरा सिकिरहेको बताए ।

‘रेडियो शिक्षाले बिद्यार्थीलाई पढाईमा केन्द्रित गराउने काम गरेको छ, नजानेका कुरा सिक्ने अवसर प्रदान गरेको छ,’ उनले भने ‘रेडियो सुनेर ट्युसनमा सहभागी भएका धेरै बिद्यार्थीले हामीलाई फोन गरेर पनि बताउँने गर्छन् ।’ बिद्यालय नखुल्दासम्म रेडियोबाट ट्युसन कक्षा सञ्चालन गरेमा बिद्यार्थीको ध्यान पढाईमै केन्द्रित गर्न सहज हुने शिक्षक आचार्यको बुझाई छ । गणेश माध्यामिक बिद्यालय ढकेरीका बिज्ञान शिक्षक खडानन्द डाँगीले रेडियोबाट सञ्चालन भइरहेको ट्युसनले बिद्यार्थीलाई धेरै सहज बनाएको बताउँछन् । ‘बिद्यालय सबै बन्द भएको अवस्थामा रेडियोबाट सञ्चालन भएको ट्युसन कक्षा बिद्यार्थीका लागि लाभदायी बनेको छ, गाउँपालिकाले बिद्यालय नखुल्दासम्म रेडियोबाटै पढाउने ब्यवस्था गरेमा धेरै प्रभावकारी हुन्छ,’ उनले भने ।

Womui
Womui